द्वन्द्वले जंगलमा बद्लिएको छेडा गाउँ

० विमलबहादुर विष्ट

डोटी। डोटीको बडीकेदार गाउँपालिका–२ को छेडा गाउँ हिजोआज पनि सुनसान छ । पहिलेको बर्छैन गाविसअन्तर्गत पर्ने यो गाउँमा राम्रै बसोबास थियो । अहिले गाउँमा न मान्छेको चहलपहल हुन्छ न त कसैको आवतजावत नै । विसं २०५९ वैशाख १९ गते उक्त गाउँमा तत्कालीन शाही नेपाली सेना र माओवादी विद्रोहीबीच भिडन्त भएर केही स्थानीयवासी मारिए । बारीमा काम गरिरहेका उनीहरुको अनाहकमा ज्यान गएपछि बाँचेकाहरुले उक्त गाउँ छोडेका कारण सुनसान भएको हो । उक्त घटना घटेको १७ वर्ष भयो ।

विसं २०५८ फागुन ४ गते अछाम जिल्ला सदरमुकाम हानेपछि माओवादी नेता कार्यकर्ता छेडा गाउँ जम्मा हुने क्रममै थिए । उक्त सुइँको नेपाली सेना पायो । विसं २०५९ वैशाख १९ गते एकाएक गोली चल्न शुरु भयो । घटनामा माओवादीतर्फ कति हताहत भए थाहा भएन । स्थानीयवासी उक्त घटनामा १०० को हाराहारीमा माओवादी मारिएको अनुमान गर्छन् ।

“माओवादीले त यसरी सेना आएर एकाएक आक्रमण गर्ला भन्ने सोचेकै थिएनन्,” स्थानीयवासी रोजबहादुर कलेलले भने, “माओवादी त सुरक्षित बसेको महशुस गर्दै थिए । सेनाले आएर एकाएक गोली हाने । माओवादीले तयारी समेत गर्न पाएनन् । कति मरे मरे, अत्तो पत्तो छैन ।” सेना गइसकेपछि माओवादी कार्यकर्ताहरु फेरि आएर आफ्ना घाइते कार्यकर्ताहरुलाई बोकेर लगेको र मृतकहरुलाई हतार हतारमा गाडेको कलेलले बताए ।

लासहरु राम्रोसँग गाडिएका थिएनन्, पछि स्याल र कुकुरले तानेर निकाले,” कलेलले सम्झे, “लामो समयसम्म गाउँ नै गन्हाइरह्यो । स्थानीयवासीलाई बस्न समेत समस्या भयो ।” अहिले पनि मान्छेका हड्डीहरु देखिने गरेको गाउँलेहरु बताउँछन् । घटना अघि १२ परिवार बस्थे छेडा गाउँमा । घटनापछि त्रसित भएका कतिपय तराईतिर बसाइ सरेर गएको स्थानियवासी लालबहादुर मन्नीले बताए ।

उनका अनुसार उक्त गाउँमा अहिले जम्मा तीन परिवार मात्रै छन् । अहिले यो गाउँ करीब करीब खण्डहर जस्तै बनेको छ । खेतीयोग्य जमिन बाँझा भएका कारण जताततै रुख र बोट बिरुवा मात्रै उम्रएका छन् । बिहान करीब ११ बजे लहरैका खेतमा गोरु जोतेर धान छर्दै गरेका व्यक्तिहरुलाई माओवादीको आशङ्कामा सेनाले समात्यो । उक्त घटनामा माओवादीको आरोपमा मारिनेमा ७० वर्षीय रणवहादुर चन्द र ६५ वर्षीय दलबहादुर चन्द पनि थिए ।

गोरु किन्न भनेर आएका बर्छैन पुड्केपानी गाउँका डबलबहादुर सार्कीले पनि सोही घटनामा मारिनु प¥यो । “उनी गोरु किन्न आएका थिए, गोरुको मोलमोलाइ भइरहेको थियो,” त्यो दिन सम्झदै अर्का स्थानीयवासी चक्र मटेनीले भने, “त्यही बेला सेनाले आएर हामीलाई समात्यो ।” सेनाको गोलीबाट २५ वर्षीय लालबहादुर चन्द र १८ वर्षीय टेकबहादुर चन्दको प्राण गयो ।

हलो जोत्दै गफिँदै गरेका छ जना स्थानीयवासीमा छेडा गाउँकै चक्र मटेली पनि थिए । अन्य पाँच जना जस्तै उनलाई पनि सेनाले लामबद्ध हुन लगायो । “ल तिमिहरु भाग, ज्यान बचाउ भनेका हुन्, सेनाले,” चक्र त्यो कहालीलाग्दो दिन सम्झन्छन्, “तर हामीले हामी माओवादी होइनौं यही गाउँका मान्छे हौं, भागेर कहाँ जाउँ’ भन्दा आमा छोएर गाली गर्दै गोली ठोके ।” हात, मुख र घाँटीमा गोली लागेका चक्रले त्यसपछि के भयो भन्ने आफूले थाहा नपाएको बताए ।

राति करीब ८ बजे होस खुलेपछि आफू नजीकैको दुम्सीको ओडारमा गएर बसेको उनी सम्झन्छन् । उपचारका क्रममा करीब दुई लाख रुपैयाँ खर्च भएको चक्रको भनाइ छ । “मैले कतैबाट कुनै राहत पाइनँ,” उनले भने, “पटक पटक गाविस र जिल्ला धाएँ तर, कसैले मेरो पीडा सुनेन ।” छेडा घटनाको कारण त्रासले भागेका स्थानीय बासिन्दाका घरहरु अहिले धमाधम भत्किन थालेका छन् । गाउँमा सन्नाटा छ । खेतीपाती पनि कसैले गर्दैन । पूरै गाउँ जङ्गलै जङ्गलले ढाकेको छ ।

छेडा घटनामा मारिएका लालबहादुर चन्दकी पत्नी निर्मला चन्द घटनापछि गाउँ छोडेर खडेउलीमा बस्दै आएकी थिइन् । उनी बूढी सासूआमा र एक वर्षको छोरोसँगै बस्दै आएकी थिएन् । गस्तीमा गएका शाही सेनाले माओवादी लुकेको आरोपमा निर्मलाको घरमा घेरा हाल्यो । निर्मलालाई ढोका खोलेर बाहिर आउन भनियो तर सेनाकै गोलीबाट श्रीमान् गुमाएकी निर्मलाले बाहिर आउने हिम्मत गरिनन् ।

“निर्मला घरभित्रै थिइन्, उनी, सानो बाबु पनि सँगै थियो,” चक्र भन्छन्, “उनले ढोका नखोलेपछि सेनाले झ्यालबाट गोली हान्यो र उनको मृत्यु भयो ।” विसं २०६१ साल असोजमा भएको यो घटनामा छोरा प्रकाश पनि घाइते भए । उनलाई सेनाले उपचारका लागि काठमाडौं लग्यो । हाल उनी शहीद स्मृति विद्यालय सुर्खेतमा अध्ययन गरिरहेको चक्रले बताए ।

घरमा सहारा दिने कोही नभएपछि निर्मलाका छोरा सुर्खेतमा पढिरहेको स्थानियवासी बताउँछन् । निर्मला लगायतका छेडा घटना पीडितलाई कहिले र कसले राहत दिने भन्ने कुरो अन्योलमै छ । स्थानीयवासी मुना मटेनीले भने, “आफू सानै उमेरको भएकाले पहिले गोली चल्दा त मन्दिर भत्काउन लागेका हुन् भन्ने सोचेकी थिएँ तर, जब अन्धाधुन्द गोली चल्न थाल्यो, गाउँलेको भागाभाग भयो, त्यसपछि मान्छे मार्दै रहेछन् भनेर थाहा पाएँ ।” प्रशस्त मात्रामा उब्जनी हुने र सम्म परेको जमीन भएको उक्त ठाउँमा पुनः बस्ती बसेको हेर्न रहर स्थानीय बासिन्दाको छ ।
रासस