भिडियो कन्फरेन्समार्फत खेलाडीसँग छलफल

काठमाडौं । नेपाल ओलम्पिक कमिटीले शुक्रबार टोकियो ओलम्पिकको छनोट खेल खेल्ने, वाइल्ड कार्डका लागि तयारी गरेका र छात्रवृत्ति पाएका खेलाडी, प्रशिक्षक तथा संघसँग भिडियो कन्फरेन्स गरेको छ । लकडाउनमा खेलाडी, प्रशिक्षकको अवस्था बुझ्न र उनीहरुलाई केही समस्या परेको भए सामाधान समेत गर्ने उद्देश्यले भिडियो कन्फरेन्स गरिएको हो ।

कोभिड १९ का कारण य चैत ११ देखि लकडाउन भएकाले खेलाडी घरभित्रै हुँदा उनीहरुलाई मानसिक, शारीरिक रुपमा तन्दुरुस्त राख्न विभिन्न चरणमा भिडियो कन्फरेन्समार्फत छलफल गरिएको छ ।

छलफलपछि पोषणविद्सँग नियमित सम्पर्क गराएर खेलाडीको खेलअनुसारको डाइट दिनेलगायतको कार्य हुनेछ भने कमिटीले बनाएको डाक्टरको समूहले अनुगमन गर्ने छन् ।

कमिटीले आइतबारबाट खेलाडी तथा प्रशिक्षकका लागि मनोवैज्ञानिक कक्षा अनलाइनमार्फत सञ्चालन गर्ने छ । छलफलमा सहभागी खेलाडी प्रशिक्षकले एनओसीले अप्ठ्यारो परिस्थितिमा अभिभावकत्व ग्रहण गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।

कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले ओलम्पिक २०२१ को २३ जुलाईदेखि ८ अगस्टसम्म हुने भएकाले यसलाई अवसरका रुपमा लिनका लागि आजैबाट परिस्थितिलाई बुझेर काम गर्नुपर्ने बताए । ओलम्पिकका लागि ५ जुलाईसम्म अन्तिम ‘इन्ट्री’को समय रहेको छ ।