छाडा गाईका लागि गौशालय बनाइँदै

पल्पा । पाल्पाको रामपुर नगरपालिकामा निर्माणाधीन गौशालाको ५० प्रतिशत काम सकिएको छ । नगरपालिकाले ६ स्थित तातोपानीघाटमा गौ संरक्षण गर्ने उद्देश्यले गौशाला निर्माण भइरहेको हो ।

गतवर्षको लक्ष्मीपूजाका दिन निर्माण सकेर गाई राख्ने लक्ष्य रहे पनि पर्याप्त बजेट नहँुदा निर्माणकार्य लम्बिएको हो । चालु आर्थिक वर्षमा गौशाला निर्माण गर्न नगरपालिकाले २० लाख रकम विनियोजन गरेको छ ।

नगरपालिकाबाट प्राप्त रकमले निर्माणकार्य सम्पन्न गर्न अपुग भएपछि महायज्ञ गर्न लागिएको नगर प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिए । माघको दोस्रो हप्ता हुने श्रीमद्भागवत धनधान्यान्चल ज्ञान महायज्ञका लागि प्रवक्ता न्यौपाने अध्यक्ष रहेको एक हजार एक श्रीमद्भागवत धनधान्यान्चल ज्ञान महायज्ञ मूल आयोजक समिति गठन भएको छ । महायज्ञ अवधिभर रु ५० लाख रकम दान सङ्कलन गर्ने लक्ष्य रहेको छ ।

गौशालामा गाई बाँधेर मात्र गौशाला परिसरमै महायज्ञ गरिने भएको छ । गौ संरक्षण गर्न र रामपुर नगरपालिकालाई धार्मिक नगरी क्षेत्रका रूपमा चिनाउन, यत्रतत्र रामपुरमा छाडा छाडिएका गाईलाई व्यवस्थापन गर्न गौशाला निर्माण कार्य सुरुआत गरिएको हो

अहिले गौशालाको चारैतिरको भाग घेराबार गर्ने काम सम्पन्न भइसकेको छ । भुइँ ढलानको काम चलिरहेको छ । यहाँ करीब २५० सम्म गाई अट्ने क्षमताको गौशाला निर्माण भइरहेको निर्माण समितिका अध्यक्ष ओमप्रकाश रेग्मीले बताए ।