सुदुरपश्चिममा कोरोना त्रासः राजधानी कप स्थगित

धनगढी । कैलालीको अत्तरियामा बिहीबारदेखि हुने भनिएको दोश्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता स्थगित भएको छ ।

कोरोना भाइरसको त्रासका कारण सबै तयारी पुरा गरेर  खेल तालिका समेत जारी भइसकेपछि आयोजना हुने दिनमै प्रतियोगिता स्थगित गरिएको हो ।

पिएफए स्पोर्टस क्लब अत्तरियाको आयोजनामा बिहीबार फागुन २२ गतेदेखि २८ गतेसम्म हुने राजधानी कप फुटबल प्रतियोगिता गोदावरी नगरपालिकाले सार्वजनिक कार्यक्रम नगर्न अपिल जारी गरेपछि  रोकिएको हो ।

कैलालीको गोदावरी नगरपालिकामा दोश्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा गरिसकेको अवस्थामा नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगरपालिका क्षेत्रभित्र कुनै पनि सभा, सम्मेलन, महोत्सव, उत्सव आयोजना नगर्नका लागि अपिल गरेकोले केही समयका लागि प्रतियोगिता स्थगित गरिएको प्रतियोगिताका संयोजक सन्तोष भट्टले जानकारी दिए ।

विश्वभर फैलिरहेको कोरोना भाइरसको संवेदनशिलताका कारण गोदावरी नगरपालिका क्षेत्रमा कुनै पनि कार्यक्रम नगर्नका लागि अपिल गरिएका कारण सोही सूचनाका आधारमा प्रतियोगिता अचानक स्थगित गर्न बाध्य भएको संयोजक भट्टले बताए । अबको केही दिनमा फुटबल प्रतियोगिता आयोजना गरिने आयोजकले जनाएको छ ।

मालिका खेल मैदान तेघरीमा सञ्चालन हुने प्रतियोगितामा कैलाली बाँके र दाङका ११ टीमले सहभागीता जनाउने निश्चित भएको थियो ।