कुमार पौडेल ईनकाउन्टरमा होइन षडयन्त्रपूर्वक मारिएः परिवार

काठमाडौं । दोहोरो भिडन्तमा मारिएका भनिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको परिवारले पौडेललाई नियोजित रुपमा नियन्त्रणमा लिएर हत्या गरिएकोे दाबी गरेको छ ।

रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै परिवारले पौडेलको षड्यन्त्रपुर्वक हत्या गरिएको दाबी गरेको हो । असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही खोलाको छेउमा षड्यन्त्रपूर्वक हत्या भएको परिवारको दाबी छ ।
घट्नाको बारेमा बोल्दै मृत्तक पौडेलका भाइ हरिकृष्ण पौडेलले प्रहरीसँग मुडभेड नभई निर्देशनको आडमा प्रहरीले नियन्त्रणमा लिएर हाँतखुट्टा भाँचेर, दाँत झारेर गोली हानेको आरोप लगाए ।

उनले आफ्ना दाइको राजनीतिक जीवनको बारेमा स्वयम् सरकारमा रहेकाहरु पनि जानकार रहेको बताउँदै झुटा आरोप लगाएर ठाडो निर्देशनमा मारिएको बताए ।

‘यदि त्यो नियोजित हत्या थिएन भने बारादेखि धनुषासम्मको प्रहरी त्यहाँ कसरी पहिल्यै आइपुग्यो,’ उनले प्रश्न गरे ।
सादा पोशाकमा रहेका प्रहरीले दाजुको हत्या गरेको जनाउदै उनले चार ठाँउमा भाँचिएको हात नजिकै हतियार राखेको फोटोहरु आफुसँग प्रमाणको रुपमा सुरक्षित रहेको स्पष्ट पारे ।

‘हात भाँच्चिएको मानिसको त्यति नजिकै कसरी हतियार रहनसक्छ ?’ उनको आक्रोस थियो । उनले सरकारले घट्नाको बारेमा सत्य, तथ्य बाहिर ल्याउनका लागि स्वतन्त्र छानविन समिति गठन गर्न पनि आनाकानी गरेको गुनासो पोखे ।

केही समाचारमा दाइको बाग्मती नगरपालिकाका मेयर भरतकुमार थापासँग चन्दा मागेका विषयमा वास्तविक कुरा नै नबुझेर गलत तरिकाले समाचार सम्प्रेषण गरिएको भन्दै उनले दुःखेसो पोखे ।

उनले सागरनाथ वन विकास परियोजनाअन्र्तगत रहेको सुकुम्बासीको बिषयलाई उठाएका कारण दाइको हत्या भएको आरोप लगाए । उनले भने, ‘हामीमाथि झुठो आरोप लगाइयो, ठूलो पीडा छ । स्वतन्त्र न्यायिक समिति बनाएर हामीलाई न्याय दिनुपर्छ ।’

परियोजनाको जग्गाामा रहेका सुकम्बासी व्यवस्थित् गर्न परियोजनासँग भएको पाँच बुँदे सहमति कार्यान्वयन गराउन खोज्दा उल्टै परियोजनाले ७५ करोडको मुद्दा हालेको पनि उनको भनाइ छ ।

सो मुद्दालाई अख्तियारले हेर्दे आएको र छानविन गरेर राजनीति तथा सुकम्बासीको हकहितमा बोलेको भन्दै अहिलेसम्म पनि नबोलाएको पनि उनले जनाए । ‘मुद्दा तामिलिमा छ, अहिलेसम्म कुनै टुँगो लागेकोे छैन,’ उनले जनाए ।
पिरियोजनासंग भएको पाँच बुदे सहमति कार्यान्वयनको लागि आवाज उठाउँदा चन्दा आरोप लगाएर सरकारी मान्छेल ेनै आफ्ना दाजुलाई मारेकोे उनको आरोप छ ।

मेरा श्रीमानलाई षडयन्त्रपूर्वक मारेः कला
त्यस्तै कार्यक्रममा बोल्दै मृतकप पौडेलकी श्रीमती कला पौडेलले पनि आफ्ना श्रीमान्लाई षड्यन्त्रपूर्वक मारेको दाबी गरिन् । छानविन समितिले स्वतन्त्र रुपमा छानबिन गरेर आफ्नो श्रीमानको हत्यारालाई कानुनी दायरामा ल्याउनुपर्ने उनको माग छ ।

श्रीमानलाई कुनै दबाब वा असुरक्षाको बारेमा कुनै जानकारी नभएको बताउँदै उनले भनिन्, ‘श्रीमानले पनि कुनै त्यस्तो अप्ठ्यारो छ भन्ने कुरा कहिल्यै गर्नुभएको थिएन ।’ दोषीलाई कानुनी कारवाही गर्नुपर्ने अनिमात्रै आफूहरुले न्याय पाउने उनको भनाइ छ ।

मृतकका भतिजा राजकुमार पौडेलले आफ्ना काका दोषी भएको भए कसरी हजारौं मानिषहरुले उनको अन्तिम संस्कारमा सहभागिता जनाए ? भन्दै रचना गरिएको षड्यन्त्रको पर्दाफास गर्न आग्रह गरे ।