‘क्रिसमस डे’को बिरोधमा उत्रियो विश्व हिन्दु महासंघ नेपाल

‘राष्ट्रिय स्वाभिमान नेताहरूको हुँकारमा सिमित भयो, व्यवहारमा गिर्दै गयो

काठमाडौं । हाम्रो राष्ट्रिय स्वाभिमान नेताहरुको हुँकारमा सिमति भएको र व्यवहारमा गिर्दै गएको विश्व हिन्दु महासंघ नेपालले जिकिर गरेको छ । सनातनदेखि चल्दै आएको धर्म, संस्कृतिप्रतिको निष्ठा र समर्पण कमजोर भएको मौका छोपेर हिन्दु धर्म, संस्कृति तथा राष्ट्रियतामाथि भइरहेको आक्रमणप्रति विश्व हिन्दु महासंघले चिन्ता जनाएको छ ।

आज राजधानीमा गरिएको पत्रकार सम्मेलनमा महासंघले पछिल्लो समय विद्यालयहरूमा क्रिसमस डेको बहाना बनाएर टोपी, क्रिसमस ट्री, शान्ताक्लाउसका मुकुट बनाएर अनिवार्य लगाउनुपर्ने प्रचलनको कडा बिराध गरेको छ । ‘यस्ता प्रचलनले कलिलो बालमस्तिस्कमा हाम्रो सनातन धर्म, संस्कृतिविरुद्ध गहिरो प्रभाव पार्ने काम गरेको छ,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न बहानामा पाश्चात्य संस्कृति लाद्ने दुस्प्रयास भएको छ । यो हाम्रो संविधान विरुद्धको कार्य हो ।’

महासंघका महासचिव गणेशप्रसाद नेउपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको, ‘हाम्रो संविधानले कुनै पनि धर्मले अरु धर्ममाथि आधात पुग्नेगरी धर्म प्रचार गर्न स्पस्ट गरेको छ तर अहिले विभिन्न बहानामा त्यो भइरहेको छ । यो हाम्रो संविधान विरुद्धको कार्य हो । मानव अधिकार तथा हाम्रो सनातन घर्म विरुद्धको कार्य हो ।’

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष डा रामचन्द्र अधिकारीले हिन्दु सनातन धर्म भएकाले यसको मूल मर्म सहिष्णुता भए पनि आइलाग्नेमाथि ज्याइलाग्न पछि पर्न नहुने धारणा व्यक्त गरे । उनले अहिले विभिन्न बहाना र निहुमा सनातन धर्ममाथि आक्रमण भइरहेको बताउँदै त्यस्ता कार्य अबिलम्ब बन्द गर्न अपिल गरे । काठमाडौं लगायत देशभरका अधिकांश विद्यालयमा क्रिसमस डे को बहानामा कलिलो मानसपटलमा धर्म प्रचार गरिरहेकोप्रति इंगित गर्दै अध्यक्ष अधिकारीले भने, ‘यस्ता बहानाबाजीमा धर्म प्रचार गर्ने काम विद्यालयहरुले अबिलम्ब बन्द गरुन् ।’

उनले विश्व इतिहासमै फरक महत्व र सन्देश बोकेको चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा र नेपालको नामै फेर्ने दुस्पर्यास असफल भएपछि हाम्रा देवी देवताका नामबाट सम्बोधित नेपाली सेनाका गण र गुल्मको नाम फेर्ने दुस्प्रयास भएरहेकोप्रति ध्यानाकर्षर्ण भएको बताए । ‘यदि यो सत्य हो भने हाम्रो घोर आपत्ति छ,’ उनले भने, ‘हामी चुप भएर बस्दैनौँ, परशुराम बन्ने अवस्थाको सिर्जना नगरियोस् ।’ अध्यक्ष अधिकारीले देशका सीमाना मिचिँदा, संस्कार क्षयीकरण हुँदै जाँदा र धर्ममाथि प्रहार हुँदा पनि राजनीति नेतृत्व निरिह भएर बसकोप्रति दुःख प्रकट गरे ।

कार्यक्रममा उनले हिन्दु राष्ट्र स्थापना गरिछोड्ने आफूहरुको माग भएकाले राजासहितको हिन्दु राष्ट्र आफूहरुको परिकल्पना नभएको स्पस्ट पारे । कार्यक्रममा महासंघकी सचिव ज्योत्सना साउदले महासंघ कुनै राजनीतिक अभिष्टका लागि नभएर सनातनी संस्कार, संस्कृति र धर्मको रक्षार्थ लागिपरेको स्पस्ट पारिन् । उनले सनातन धर्मले सबैलाई समान, सरोबरी ठान्ने मात्रै नभएर यो धर्ममा महिलाको उच्च सम्मान भएको बताइन् ।

‘सनातन हिन्दु धर्म र हाम्रो धर्म ग्रन्थले कसैको कुभलो नसोच, सर्वहिताय सुखिन भन्ने मर्म बोकेको छ,’ अक्षरपाटीसँगको कुराकानीका क्रममा सचिव ज्योत्सनाले भनिन्, ‘धर्मग्रन्थले जहिले पनि नारीसत्ताको वकालत गरेको छ । नारीलाई पहिलो स्थान दिएको छ । सिता–राम, राधा–कृष्ण, गौरी–शंकर भनेर नारी अस्तित्वलाई पहिलो स्थान दिने संस्कार हिन्दु धर्मले सिकाएको हो ।’ अहिले मानवीय व्यवहारले केही भ्रान्ती र गलत प्रचलन स्थापित गरेको उनले बताइन् । कार्यक्रममा महासंघका सल्लाहकार विष्णुप्रसाद धिताल, उपाध्यक्ष दिनेश सिजापति, सचिव भोजराज वास्तोला, देवीप्रसाद भण्डारीलगायतको उपस्थिति थियो ।