के जाह्नवी कपूर गर्दैछन् मोदीको प्रचार ?

एजेन्सी । यतिबेला सारा भारत चुनावी रंगमा रंगिएको छ । भारतमा बिहीबार दोस्रो चरणको लोकसभा निर्वाचन भएको छ । चुनावी माहोलभन्दा पर भारतीय स्टारहरु पनि छैनन् । कतिपय भारतीय स्टारले त भोट दिन आम जनतालाई अपिल पनि गरेका छन् ।

यही दौरान श्रीदेवीकी छोरी जाह्नवी कपूरको नामबाट पनि एक ट्वीट सामाजिक सञ्चालमा भाइरल बनेको छ । ट्वीट हेर्दा लाग्छ कि जाह्नवी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रचारमा जुटेकी छन् ।

जाह्नवीको नामबाट जुन ट्वीट भाइरल भएको छ, त्यसमा लेखिएको छ– ‘म राजनीति बुझ्दीन, तर मलाई यति थाहा छ कि, देशलाई मोदीजीको खाँचो छ ।’

पोस्ट हुने वित्तिकै यो ट्वीटले ट्रेन्डिङ हुन सुरु भएको थियो । केही घन्टामै उनको नामको ट्वीट ३६ हजारभन्दा बढीले रि–ट्वीट गरे । १२ हजारभन्दा बढी पटक लाइक गरियो । यो ट्वीटलाई लिएर भनिन थालेको छ कि– जाह्नवी मोदीको प्रचारमा जुटेकी छन् ।

खासमा जाह्नवीको यो ट्वीट फेक हो भनिएको छ । कारण जाह्नवीको ट्वीटर एकाउन्ट नै छैन । उनी इन्स्टाग्राममा मात्रै छिन् ।