कोरोना भाइरस रोकथामको प्रयासमा स्थानीय तह

कैलाली । विश्वभरि महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको जोखिम फैलन नदिन कैलालीका स्थानीय तह केन्द्रित भएका छन् । भाइरस भित्रीहालेमा त्यसले निम्त्याउन सक्ने खतरालाई ध्यान दिँदै स्थानीय पालिकाहरु उपलब्ध साधन स्रोतका आधारमा आफ्नो ढङ्गले रोकथाममा केन्द्रित भएका हुन् ।

यसबाहेक आम नागरिक, उद्योगी व्यापारी, होटल व्यवसायी, सामाजिक सङ्घसंस्था, राजनीतिक दलका स्थानीय समिति र तिनका भातृ संस्था पनि कोरोना रोकथाममा सहयोग पु¥याइरहेका छन् ।

कैलालीको दक्षिणी सीमा नजिकको भजनी नगरपालिकाले रोग रोकथामका लागि केही दिनदेखि बस्ती र टोलमा नियमितरूपमा माइकिङ गरेर सचेतना अभियान चलाएको छ । “क्वारेन्टाइनमा बस्नुपर्नेबाहेक अहिलेसम्म कोही सङ्क्रमित फेला परेको अवस्था छैन, नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले भने ।

विपद् व्यवस्थापन कोषको रकममार्फत यो रोगको रोकथाम र निगरानीका लागि चाहिने सबै सामग्रीको व्यवस्थापन गरिरहेको नगरप्रमुख चौधरीले बताए । भजनीमा भारतबाट आएका पाँच जनालाई क्वारेन्टाइनमा राख्न लागिएको छ ।

कैलालीको पूर्वीक्षेत्रको टीकापुर नगरपालिकाले पनि रोगको रोकथामको पूर्वतयारीका लागि गर्नुपर्ने सबैखालको व्यवस्थापनमा केन्द्रित भइरहेको नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावलले बताए ।

“आवश्यक ठाउँमा हेल्थ डेस्क सञ्चालन गरिएकामा टीकापुर अस्पताल र साथी अस्पतालमा गरी १५ श्ययाको आइसोलेसन कक्ष तयारी हालतमा राखेका छौँ”, नगरप्रमुख रावलले भने । टीकापुरमा व्यवस्था गरिएको क्वारेन्टाइनमा भारतबाट केही दिनअघि भित्रिएका २० नेपालीलाई राख्ने व्यवस्था गरिएको छ ।

प्रदेशको अस्थायी राजधानी शहर धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड कोरोना भित्रिन नदिनका लागि नगरपालिकाले साधन स्रोतले भ्याएसम्म सबै उपाय गरिरहेको बताउछन । “रोग फैलिन नदिन सचेतना फैलाउने र अन्य सबै उपाय अवलम्बन भइरहेको छ,ू वडले भने, ुबिहीबारदेखि आवश्यक ठाउँमा किटनाषक औषधि स्यानिटाइजर छर्किने काम थालिएको छ ।ु

कार्यदल गठन

कैलालीको अत्तरिया नगरपालिकाले टास्क फोर्स गठन गरी रोगको रोकथाम, निगरानीका लागि जनचेतना अभिवृद्धिका साथै आवश्यक थप व्यवस्थानको काम गरिरहेको छ ।

क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थाका साथै आवश्यक ठाउँमा किटनाषक औषधि स्यानिटाइजर छर्किनेलगायतका काम भइरहेको कार्यालयका प्रशासकीय अधिकृत खेमराज विष्टले बताए । गाउँबस्तीको हकमा सडक छेउका फोहर नालीमा निमको पात पिँधेर बनेको पानी छर्किन थालिएको छ ।

रोग रोकथामका लागि नेपाल सरकारले मङ्गलबारदेखि आह्वान गरेको ‘लकडाउन’लाई जनताले स्वतःस्फुर्त साथ दिइरहेका छन् । लकडाउनको तेस्रो दिनसम्म आइपुग्दा धनगढी बजार सुनसान छ । व्यापार व्यवसाय, उद्योगधन्दा सबै बन्द छन् ।

बजारमा गस्तीमा खटिएका सुरक्षाकर्मीका साथै बिरामी बोक्ने एम्बुलेन्स र अति अत्यावश्यक काममा हिँड्ने मात्र देखिने गरेका छन् । लकडाउनको उल्लङ्घन गरी हिँड्ने विभिन्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ । अत्यवश्यक वस्तुको बिक्रीमा रोक नलगाइएको भए पनि लकडाउनको दुई दिनसम्म खुलेका डेरी पसल तेस्रो दिन भने बन्द गरिएको छ ।

रोग सङ्क्रमण फैलिन सक्ने अवस्थालाई ध्यान दिई बिहीबारदेखि पसल बन्द गर्नुपरेको सीताराम डेरी उद्योग धनगढीका सञ्चालक सर्मानन्द भट्टले बताए । पछिल्ला दिनमा सञ्चारमाध्यमले कोरोना भाइरसको महामारी र रोकथामलगायत सम्बन्धी सूचना र समाचारलाई प्राथमिकता दिइरहँदा सर्वसाधारण पनि कोरोनाको समाचार सुन्नकै लागि सञ्चारमाध्यममा झुम्मिने गरेका देखिन्छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाको रोकथाम तथा निगरानीको पूर्वतयारीस्वरुप गर्नुपर्ने कामका लागि प्रदेशका विभिन्न अस्पताल र जनस्वास्थ्य संस्थामा आइसोलेसन कक्ष स्थापनाको कार्य लागि ११ करोड ५० लाख रकम उपलब्ध गराउने निर्णय केही दिनअघि नै गरेको थियो ।

यसैगरी कोरोनाको रोकथाम प्रयासका लागि गर्नुपर्ने कामका लागि सशर्त अनुदानका रुपमा प्रदेशका गाउँपालिकालाई तीन लाख, नगरपालिकालाई चार लाख र उपमहानगरपालिकालाई पाँच लाख उपलब्ध गराउने निर्णय पनि प्रदेश सरकारले गरिसकेको छ ।