आगलागी तथा विपद् कम गर्न महानगरको महत्वाकांक्षी योजना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सम्भावित आगलागीका घटना नियन्त्रण गर्न र घटना भइहाले क्षति कम गर्न दमकल जान नसक्ने ठाउँमा पाइपको व्यवस्था गर्ने भएको छ । दमकललाई थप प्रभावकारी बनाउन र आवश्यक उपकरणको खरिद गर्ने महानगरपालिकाले जनाएको छ ।

महानगरभित्र विभिन्न स्थानमा दमकललगायत विपद् व्यवस्थापनका लागि चाहिने उपकरणको व्यवस्थापन गरिने नगर प्रमुख विद्यासुन्दर शाक्यले बताए । उनका अनुसार महानगरका विभिन्न स्थानका गल्लीभित्र दमकल जान नसक्ने हुँदा पानीको पाइपको व्यवस्थापन हुनेछ । दमकल जान सक्ने ठाउँसम्म गएपछि भित्रि चोकहरुमा यीनै पाइपमार्फत पानीको फोहरा पठाउने महानगरको योजना छ ।

त्यस्तै, विपद् आउनासाथ पानी जुटाउन नसकिने हुनाले त्यसको पूर्वतयारी गरिने उनको भनाइ छ । उनले भने, ‘विपद् व्यवस्थापनका लागि सामुदायिकस्तरमा वर्षातको पानी सङ्कलन गर्ने ट्याङ्की निर्माण गरिनेछ ।’ आगलागीसँगै अरु विपद् व्यवस्थापन गर्नसमेत योजना बनाइएको महानगरले जनाएको छ ।

सर्वसाधारणलाई पर्नसक्ने जोखिमलाई कम गर्न जोखिम अवस्थामा रहेका पेट्रोल पम्प तथा ग्यास स्टेशन हटाउने नीति लिएको प्रमुख शाक्यले बताए । प्रकृतिक प्रकोपका कारण बसोबास गर्न नमिल्ने भएका घरहरुलाई सम्पत्ति छुट दिने महानगरको योजना छ । यस्तो छुट भएका घरबाट मानवीय क्षति हुन नदिन अनिवार्य रुपमा भत्काउने व्यवस्था लागू गरिने उनले बताए । भने, ‘त्यसका लागि पहिले भूकम्प, बाढी, आगलागीलगायतका प्रकोपका कारण जीर्ण भएका घरहरुको लगत लिइनेछ ।’