केरुङ–रसुवागढी नाकामा अघोषित सिण्डिकेट, आन्दोलनको चेतावनी

काठमाडौ । केरुङ–रसुवागढी नाका जाने पासाङ ल्हामु मार्गमा अघोषित रुपमा पुनः सिण्डिकेट प्रणाली लागू गरेको भन्दै सरोकारवालाले एकाअधिकार तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् ।

नेपाल–चीन केरुङ व्यापार संघ, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेड, रसुवा ट्रक कन्टेनर व्यवसायी संघ, मिनि गोसाईकुण्ड यातायात प्राली, पासाङ ल्हामु, मैत्री यातायात, सिल्क ट्रान्सपोर्ट, गोसाईकुण्ड, जनमुखी यातायात, दिपज्योति ईन्टरनेश्नल, सोनी ईम्पोर्ट–एक्सपोर्ट, कामना ईन्टरनेश्नल र यार्सागुम्बा ईन्टरनेश्नल प्र्रालीले पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेका हुन् ।

उनीहरुले नाकामा लगाएको अघोषित सिण्डिकेट तत्काल हटाउनुपर्ने माग गरेका छन् । नेपाल–चीन केरुङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङले सबै क्षेत्रमा खारेज भैसकेको सिण्डिकेट केही व्यक्तिले प्रशासनको मिलेमतोमा उल्टाउन खोजेको आरोप लगाए ।

उनले उक्त नाकामा लगाईएको अघोषित सिण्डिकेट तत्काल खारेज नगरे आफूहरु जस्तोसुकै संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिए । उनले भने, ‘नाका व्यवस्थापनको नाममा अवैध रुपमा रकम उठाउने गरिएको छ । सरकारलाई कर तिर्ने व्यवसायीहरु मर्कामा परेका छन् ।’