ढिस्कोले पुरिएर कुवतेमा छ नेपालीको मृत्यु, दुई जना घाइते

एजेन्सी । कुवेतमा बालुवाको ढिस्कोले पुरिएर छ नेपालीको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी छन् । दुई मृतकको पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा परी धर्मेन्द्रकुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् । घाइतेमध्ये शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको र अर्का सामान्य घाइते मण्डल उपचारपछि कम्पनीमा फर्केको दूतावासले जनाएको छ ।

उनीहरु कुवेतस्थित ‘युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी’ मार्फत अल मुट्ला सिटी प्रोजेक्टमा कार्यरत थिए । घटनास्थल दूतावासबाट करीब डेढ घन्टाको दूरीमा छ । घटनालगत्तै दूतावासका कर्मचारीले घाइते कामदारको उपचारमा सहजीकरण गरेका थिए ।