सिद्धार्थको क्रिडास्थल ओझेलमा

लुम्बिनी । सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोट दरबार अझैसम्म ओझेलमा परेको छ। गौतम बुद्ध स्वयंले आफू जन्मेको ठाउँ लुम्बिनी, ज्ञान प्राप्त गरेको बोधगया, धर्म प्रवचन गरेको ठाउँ सारनाथ र मृत्युवरण गरेको कुशनगरमा जीवनमा एक पटक पुग्नू भनेर दिएको उपदेशमा कपिलवस्तुको तिलौराकोट छुट्नु पनि ओझेल पर्नाको एउटा कारण हो।

गौतमबुद्धको जन्म कपिलवस्तुको शाक्य परिवारमा राजा शुद्धोधन तथा रानी मायादेवीको पुत्रका रुपमा लुम्बिनीमा भएको थियो। रानी मायादेवी कपिलवस्तुबाट माइत देवदह जाने क्रममा लुम्बिनी वाटिकामा गौतमबुद्धको जन्म भएको थियो। उनको वास्तविक नाम सिद्धार्थ गौतम हो। एशियाका प्रकाशको क्रिडास्थल तिलौराकोट कपिलवस्तुको तौलिहवादेखि तीन किमी उत्तरमा पर्छ। मगध सम्राट् अशोकले इपू २५१ देखि २४५ सम्म तिलौराकोटको  खोजी गरेका थिए।

सन् १८९३ मा पाल्पाका कम्याण्डिङ जनरल खड्गशम्शेरको पहलमा खोजी अगाडि बढेपछि यस क्षेत्रको खोज अनुसन्धान स्वदेश तथा विदेशसम्म निरन्तर चलिरहेको छ। त्यसैगरी गौतमबुद्धले बुद्धत्व प्राप्त गरेपछि आफ्ना पिता, पत्नी र छोरालाई पहिलो पटक भेटेको तथा भिक्षु बनाएको स्थलका रूपमा कुदान परिचित छ। कपिलवस्तु नगरपालिकाको तौलिहवादेखि तीन किमी दक्षिणमा रहेको कुदान क्षेत्रलाई राजा शुद्धोधनको न्यायालय भनिन्छ। प्राचीन शिवालय र दुई स्तूप रहेको कुदान क्षेत्रमा बसेर झैझगडा निरुपण गर्ने गरेको पुरातत्वविद्ले बताउँछन्।

तिलौराकोट, जुम्ल्याहा स्तूप, कपिलवस्तु सङ्ग्रहालय, डरेवा, बर्दहवा, लमतियाकोट, पटखहवा, राधाकृष्ण मन्दिर, सिकोटवा, रामजानकी मन्दिर, रिशोइयन शान्ति विहार, रामघाट राममन्दिर, तौलेश्वरनाथ मन्दिर, चन्द्रघण्टा दुर्गा मन्दिर, समयमाई मन्दिर, सागरताल, बडी मस्जिद, कपिलधाम, रामकुमार बाबा धाम, मधुवन धाम, नन्दनगर, शिवगढी, गोटिहवा, निग्लिहवा, अरौराकोट, दोहनीकोट, लुम्बुसागरलगायत सयौं धार्मिक पर्यटकीयस्थल कपिलवस्तु जिल्लामा छन्।

तिलौराकोट दरबार क्षेत्रदेखि ४०० मिटर दक्षिण पश्चिममा कपिलवस्तु सङ्ग्रहालय स्थापना गरिएको छ। प्राचीन कपिलवस्तु उत्खनन गर्दा भेटिएका बहुमूल्य वस्तु फलामका किला, सिसाका टप, सिसाका बाला, माटाका भाँडा, इँटाका टुक्रा र  फुटेका चुरा सङ्ग्रहालयमा छन्। तिलौराकोटलाई पर्यटकीयस्थलका रुपमा विकसित गर्र्नमा कपिलवस्तु सङ्ग्रहालयको महत्वपूर्ण भूमिका छ। उत्तर वाणगङ्गा नदीको किनारामा रहेको तिलौराकोट विश्वप्रसिद्ध ऐतिहासिक र पुरातात्विक महत्वको स्थान हो। तिलौराकोटभित्र विशेष गरी तीन भग्नावशेष छन्ः दरबारको पूर्वीद्वार, पश्चिमीद्वार तथा दक्षिणी द्वार । विगतको तुलनामा तिलौराकोटको विकास भइरहेको लुम्बिनी विकास कोष तिलौराकोट कपिलवस्तुका प्रमुख माधवप्रसाद आचार्य बताउँछन्।

उनका अनुसार पहिलेको तुलनामा केही पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको छ। आचार्यले गत वर्ष ३६ हजार बढी विदेशीले  तिलौराकोटको भ्रमण गरेको बताए। उनले कपिलवस्तु तीन बुद्धको जन्मस्थल (सिद्धार्थ, क्रकुच्छन्द र कनकमुनि) भएकाले पनि निकै पवित्र मानिने बताउनुभयो। बौद्धधर्मलाई चीनमा प्रचार गर्ने बुद्धभद्रको जन्म पनि कपिलवस्तुमै भएको मानिन्छ।

सन् २०१६ मा उत्खननका क्रममा तिलौराकोट दरबारको पूर्वपट्टि कन्थक स्तूपको दक्षिणपट्टिको खेतमा चाँदीका ४९७ र   तामाका २८९ सिक्का फेला परेका छन्। त्यस्तै २०१८ को उत्खननमा विभिन्न बुद्धका मूर्ति, माटाको खेलौना, चुरा, मालाजस्ता थुपै पुरातात्विक अवशेष भेटिएको आचार्यले जानकारी दिए।

वि.सं. २०१४ मा भएको लुम्बिनी र तिलौराकोटको उत्खनन विश्वकै कठिन उत्खनन मानिन्छ जुन नेपालीका लागि गर्वको विषय रहेको आचार्यको भनाइ छ। सो क्षेत्रमा रहेका महत्वपूर्ण सम्पदालाई सुरक्षित राख्दै अहिले अल्ट्रा साउण्ड जस्तै  जियोफिजिक सर्वे अर्थात् म्याग्नेटो मिटरबाट कहाँनिर  भग्नावशेष छ भन्ने माथिबाटै पत्ता लगाउने सकिने विधि निकै प्रभावकारी रहेको उनको ठहर छ। यस विधिबाट कपिलवस्तुको मुख्य क्षेत्रको उत्खनन गरिसकिएको उनले बताए।

बौद्ध साहित्यअनुसार ३२ बिघामा फैलिएको क्षेत्रफल, नजीकैको नदी, हिमालय पर्वत देख्न नसक्नु जस्ता थुप्रै प्रमाणले भारतले बनाएको कपिलवस्तु वास्तविक कपिलवस्तु नभएको स्थानीयवासीले ठहर गरेका छन्।  उनले अगाडि थपे, ‘गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विकास र प्रचारप्रसारका लागि सन् १९६७ मा लुम्बिनीको भ्रमण गर्नुभएका संयुक्त राष्ट्र सङ्घका महासचिव ऊ थान्तले महत्वपूर्ण भूमिका निर्वाह गरेपछि लुम्बिनीको योजनाबद्ध विकास विश्वसामु फैलिनु सबैका लागि गर्वको विषयमा भइरहँदा  तिलौराकोट ओझेलमा पर्नु अर्को चिन्ताको विषय हो।’ कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले जिल्लामा रहेका १० स्थानीय तहले हातेमालो गरे यस क्षेत्रको विकास सहजै हुने बताउनुभयो।  कपिलवस्तु जिल्लाको मात्र नभई राष्ट्रिय, अन्तरराष्ट्रिय क्षेत्रकै महत्वपूर्ण ठाउँ तिलौराकोटको विकास हुनु भनेको सिङ्गो नेपालको विकास हुने उनको भनाइ छ।

भारतीय पुरातत्व सर्वेक्षणबाट नेपाल, भारत सरकारको अनुमति पाएसँगै  कपिलवस्तु जिल्लाका विभिन्न क्षेत्रको उत्खननका लागि १९६२ मा वरिष्ठ पुरातत्वविद् देवला मित्रा नियुक्त भएका थिए। उनले आफ्नो टोलीसहित कपिलवस्तु आई उत्खनन सुरु गरे। उत्खननकै क्रममा देवलाले प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट हुन नसक्ने भनेपछि सो विषयमा बहस सुरु भएको थियो।  देवलाले वैज्ञानिक तरिकाबाट उत्खनन नगरी  सतही रुपमा उत्खनन गरेकाले यस्तो विषय बाहिर आएको अगुवाहरु बताउँछन्। उनीहरु भन्छन्, ‘जुन लेवलमा पुगेर उत्खनन गर्नुपर्ने हो त्यहाँसम्म नपुगी प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट होइन भन्नु सरासर गल्ती हो।’

सोही समयमा वरिष्ठ पुरात्वविद् केएम श्रीवास्तव (कृष्णमुरही श्रीवास्तव) ले तिलौराकोट र भारतको पिपरहवा अलिगढहवा उत्खनन  सुरु गर्नुभयो। यसरी उत्खननका क्रममा भेटिएका लिपिबाट कपिलवस्तुको राजधानी तिलौराकोट रहेको श्रीवास्तवले पुष्टि गर्नुभएको थियो। उत्खननकै क्रममा यसरी दुवै विज्ञको नतिजा फरक रुपमा बाहिर आउँदा नेपाली समाजमा भ्रम फैलिएको कपिलवस्तुका स्थानीयवासी बताउँछन्।

थुप्रै उत्खननपछि कपिलवस्तुको तिलौराकोट नै बुद्धले २९ वर्ष बिताएको स्थल हो भने विषय छर्लङ्ग भएको छ। सिद्धार्थले जन्म लिएको ठाउँलाई मात्र महत्व दिँदा तथा तिलौराकोट विवादमा मुछिँदा राज्य र विश्व समुदायको ध्यान लुम्बिनीतर्फ गएको सोही क्षेत्रका अगुवा बताउँछन्।

संस्कृति मन्त्रालय पुरातत्व विभाग, बेलायतको दुर्हाम विश्वविद्यालय, लुम्बिनी विकास कोष र राष्ट्रिय/अन्तरराष्ट्रिय विज्ञको संयुक्त टोलीले ‘युनेस्को जापानिज फण्ड इन ट्रष्ट’को आर्थिक सहयोगमा गरेको करीब चार वर्षदेखिको पुरातात्विक उत्खननबाट पाइएका विभिन्न सामग्रीको वैज्ञानिक अनुसन्धानपछि  उक्त स्थानमा प्राचीन समयदेखि नै मानव सभ्यताको क्रमिक विकास भएको प्रमाण प्राप्त भएको छ।