वर्तमान सरकार माफियाले चलाएको छः नेता महर

आयल निगमलाई भ्रष्टाचारको कारखाना बनाइयो

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेवि संघका निवर्तमान अध्यक्ष तथा काँग्रेस युवा नेता नैनसिंह महरले वर्तमान दुईतिहाई सरकार माफिया र कमिनसनखोरको चंगुलमा फसेको आरोप लगाए ।

‘आफूलाई बलियो र प्रभावशाली भनिरहेको यो सरकार माफिया र कमिसनखोरको चंगुलमा चलेको छ’, काठमाडौंमा आयोजित एक सभालाई सम्बोधन गर्दै महरले भने, ‘माफियाको अनुकूल र इसाराभन्दा माथि उठेर यो सरकार चलेको देखिएन् ।’

‘‘सरकारी जग्गा पार्टीका जिम्मेवार नेताको नाममा गरेर पनि नपुगेपछि सरकारले जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको उनले बताए । ‘एकपछि अर्को मुल्यवृद्धि कुनै पनि हालतमा मान्य हुँदैन’, नेता महरले भने, ‘फिर्ता गरिएन भने थेग्नै नसक्ने आन्दोलनको सुरुवात हुन्छ ।’

नेपाल आयल निगमको पाक्षिक नाफा सात करोडभन्दा बढी रहेको बेला जनतालाई राहत दिन मूल्य घटाउनु पर्ने अवस्थामा कमिसनको खेलमा निगमका उच्च अधिकारी र तेल माफियाको इसारामा सरकारले मूल्यवृद्धि गरेको दावी महरको छ ।

‘वाइडबडी, ३३ किलो सुन, बालुवाटार जग्गा बेचेर पनि प्रधानमन्त्री–मन्त्रीहरुलाई पैसा पुगेन र पेट्रोलियम पदार्थको मूल्य बढाएर जनताको ढाड सेकिँदैछ । यो जनतामारा सरकार हो’, महरले भने । उनले स्वचालित मूल्यका नाममा सरकारले आयल निगमलाई भष्ट्राचारको कारखाना बनाएको बताए ।