राहत प्याकेज नल्याएकोमा सरकारप्रति महरको आक्रोस

काठमाडौं । हातमुख जोर्न समस्या भएका जनताका लागि राहत प्याकेज नल्याएकोमा नेपाली कांग्रेसका युवा नेता तथा नेवि संघका निवर्तमान अध्यक्ष नैनसिंह महर आक्रोस व्यक्त गरेका छन । आमा, बुवा वा कामकाजी अभिभावक घरभित्रै लकडाउन हुँदा जनताको अभिभावक त सरकार नै हुँदैन र ? भन्दै उनले प्रश्न गरेका छन ।

विशेष गरि नेता महरले सुदूरपश्चिम प्रदेश सरकारप्रति आक्रोस पोखेका छन । रोजगारीको अभावमा भारतमा श्रम गर्न जना वाध्य हुने हजारौँ जनता विश्वभर फैलिएको कोरोना भइरसको कहरका कारण स्वदेश फर्किएका छन । यही कुरालाई इंगित गर्दै महरले ६ अर्बको बजेट वितरणमा मनमर्जी गरेको र अनियमिततामा संलग्न सुदूरपश्चिम प्रदेश सरकार गरिब जनतामाथि लाठी बर्साउन उद्धत भएको बताउँदै उनले भनेका छन, ‘गरिब जनता माथि लाठी बर्साउनु भन्दा ६ अर्ब रुपैयाँ, लकडाउनका कारण हात मुख जोर्न समस्या भएका जनताका लागि राहत प्याकेज उपलब्ध गराए हुन्थ्यो ।’

नेता महरले भनेका छन, ‘कोरोना संक्रमित विश्वभरका देशले आफना जनताका लागि विभिन्न प्याकेज र राहत घोषणा गरिसक्दा पनि नेपालको सरकार छाक टार्न समस्यामा परेका नेपाली जनताप्रति उदासिन देखिएको छ । छिटो विशेष प्याकेज ल्याउन किन ढिलाइ गरेको छ ।’

नेता महरले प्रश्न गर्दै भनेका छन्, ‘छिमेकी भारतले लकडाउनपछि गरिब, ज्यालामजदुरी गरेर छाक टार्ने जनताका लागि विभिन्न राहतका कार्यक्रम ल्याईरहँदा नेपाल सरकार जनताप्रति जिम्मेवार बनेको छैन । यो आपत्तिजनक र लाजमर्दो कुरा हो ।’