बजारमा सुजितको ‘शिलान्यास’

काठमाडौं । इतिहास र वर्तमानका विषय जोडेर लेख्न प्रख्यात सुजित मैनाली नयाँ पुस्तक ‘शिलान्यास’ लिएर बजारमा आएका छन् । शनिबार पत्रकार सुधीर शर्मा, मानवशास्त्री गौरव केसी र अन्तर्राष्ट्रिय मामिलाविद् लिला न्याइच्याइले पुस्तक विमोचन गरेका हुन् ।

पत्रकार सुधीर शर्माले शिलान्यासले वर्तमानका प्रश्नलाई इतिहासको आलोकबाट सम्बोधन गरेको उल्लेख गरे । ‘इतिहासको प्रसंग भए पनि लेखकले वर्तमानकै प्रश्नलाई उठाइरहनुभएको छ’, शर्माले भने । पुस्तकले नेपाली इतिहास, समाज र संस्कृतिबारे किताबले सरल ढंगमा व्याख्या गरिएको टिप्पणी शर्माको थियो ।

मानवशास्त्री गौरव केसीले इतिहासका अन्य पुस्तकमा नगरिएको काम शिलान्यासमा गरिएको दावी गरे । ‘पुस्तक संक्षिप्त, सरल र .सबैले बुझ्ने भाषामा लेखिएको छ । नेपाली इतिहासलाई छोटो समयमा बुझ्न चाहने जोकोहीका लागि यो पुस्तकले ह्यान्डबुकको रुपमा काम गर्छ’, केसीले भने ।

‘वर्तमान जति कन्तबिजोक भए पनि इतिहास जिवन्त हुँदोरहेछ । वर्तमान बिर्सिए पनि इतिहास नबिर्सिँइदो रहेछ । कुनै न कुनै हिसाबले हामीले इतिहास सम्झिने रहेछौं । यो पुस्तक पनि त्यसैको अभिव्यक्ति हो,’ केसीले टिप्पणी गरे ।

अन्तर्राष्ट्रिय मामिलाविद् लिला न्याइच्याइले पुस्तकले नेपाली इतिहासको सचित्र व्याख्या गरेको उल्लेख गरिन् । ‘शोधकार्यको महत्व उसको प्रश्न कति वजनदार हुन्छ भन्नेमा भर पर्छ । सुजितजीका प्रश्न वजनदार छन्’, न्याइच्याइले भनिन् ।

पुस्तक अध्ययनले इतिहासको समीक्षा मात्र नगरी वर्तमानको सन्दर्भमाथि पनि प्रश्न उठाउने उनले टिप्पणी गरिन् । ‘इतिहासको चरित्र वा शासनको चरित्र हिंसामात्रै हो त भन्ने प्रश्न पुस्तकले जन्माएको छ । इतिहासको सत्ता राजनीति हिंसा र षड्यन्त्रबाट घेरिएको छ भन्ने किताबले जनाउँछ । के आजको सत्ता राजनीति पनि त्यसरी नै चलेको छ त ?’, न्याइच्याइले भनिन् ।

लेखक सुजित मैनालीले वर्तमानका अनेकौं प्रश्नलाई हल गर्न इतिहासको सहारा लिइएको उल्लेख गरे । किताब सामुहिक प्रयत्नको परिणाम भएको उनले जनाए । ‘प्रकाशकले अग्रसरता नलिएको भए यो पुस्तक लेखिदैनथ्यो’, मैनालीले भने । कार्यक्रममा प्रकाशक संस्था बुकहिल पब्लिकेशनका संचालक भुपेन्द्र खड्काले पनि धारणा राखेका थिए ।