मिस्टर वल्र्डमा भिड्दै अक्षय रायमाझी

काठमाडौं । अगष्ट २३ मा फिलिपिन्सको मनिलामा आयोजना हुने ‘मिस्टर वल्र्ड २०१९’मा नेपालको प्रतिनिधित्व गर्दै अक्षय रायमाझी सहभागी हुने भएका छन् । ‘मिस्टर नेपाल २०१७’का बिजेता रायमाझी नेपाली कलासंस्कृतिसहित मिस्टर वल्र्डमा सहभागी हुन लागेका हुन् ।

मिस्टर नेपाल आयोजक संस्था एक्सपोज नेपालले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा अक्षयको ‘मिस्टर वल्र्ड २०१९’सहभागीता बारे जानकारी गराएको हो ।
बिश्वका एकसय भन्दा बढी राष्ट्रका युवाको सहभागिता रहने प्रतियोगितामा अक्षय नेपालका एक्लो सहभागीत हुन् । नेपाली कलासंस्कृतिले भरिएको नृत्य प्रस्तुत गर्दै भिजिट नेपाल २०२० को सन्देश समेत बिश्वमा प्रवाह गर्ने कार्यक्रम लिएर जान लागेको अक्षयले बताए ।

‘मैले नेपाल र नेपालीको विशेषता झल्कने भिडियो समेत तयार गरेको छु । जुन ‘मिस्टर वल्र्ड’को मन्चमा प्रस्तुत गर्नेछु’, अक्षयले भने, ‘भिडियोमा मेरो समाजसेवा, अन्य कामदेखि नेपाल चिनाउने सगरमाथा, गौतमबुद्धलगायतका विषयबस्तु अटाएको छु ।’ आफुले बनाएको भिडियोले बिश्वका सहभागीलाई नेपालबारे बुझ्न सजिलो हुने उनले बताए ।
अक्षय ‘मिस्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने दोस्रो ब्यक्ति हुन् । यस अगाडि मिस्टर वल्ड २०१६ मा गणेश अग्रवालले सहभागीता जनाएका थिए ।

कार्यक्रममा एक्सपोज नेपालकी सिइयो अर्चना थापाले नयाँ ‘मिष्टर नेपाल २०१९’को आवेदन समेत खुल्ला भएको जानकारी दिइन् । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले एक्सपोज नेपालले सन् २००१ बाट नियमित आयोजना गर्दै आएको यो प्रतियोगितामा १६ देखि ३५ बर्ष ननाघेका युवाहरुले आवेदन दिन सक्नेछन् ।