नेकपा सचिवालय बैठक स्थगित, जिल्ला इन्चार्ज टुंगो लागेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बिहीबार बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य गर्न नभ्याएकाले बैठक स्थगन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका शीर्ष नेता बैठकका लागि पुगे पनि एकछिन बसेर बैठक स्थगन गरियो । ‘दुवै अध्यक्षद्वयले केन्द्रीय सदस्यको कार्यविभाजन तथा जिल्ला कमिटीका इञ्चार्ज र सहइञ्चार्ज तोक्नेबारे अझै गृहकार्य  पुगेन भन्नुभयो,’ श्रेष्ठले भने ‘त्यसैले आज सबै सचिवालयका सदस्य जम्मा भए पनि एकछिन बसेर बैठक स्थगन गरियो ।’

अर्को बैठक युरोप भ्रमणपछि
उनले प्रधानमन्त्री ओलीको युरोप भ्रमण सकेर आएपछि मात्र सचिवालय बैठक बस्ने बताए ।  प्रधानमन्त्री शनिबारदेखि युरोपको साताव्यापी भ्रमणमा जाँदैछन् ।

पार्टीको जिल्ला कमिटी इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउन सचिवालय बैठक डाकिएको थियो । केन्द्रीय सदस्यको कार्य विभाजन र जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज तोक्ने विषयमा मंगलबारदेखि बैठक बसे पनि नेताबीच कुरा नमिल्दा टुंगो लाग्न सकेको छैन् । कार्यविभाजन सकाएपछि बाँकी रहेका साङ्गठनिक एकीकरणका अन्य काम र थप कार्यविभाजनका विषयमा समेत प्रवेश गर्ने पार्टीको तयारी  थियो ।

-रासस