‘पार्टी नेतृत्वका लागि देउवाको विकल्प छैन्’

अछाम । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एनपी साउँदले पार्टी नेतृत्वका लागि सभापति शेरबहादुर देउवाको विकल्प नभएको बताएका छन् । सोमबार भ्रातृ संगठन नेपाल किसान संघ अछामको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता साउँदले पार्टीमा अहिले नै देउवाको विकल्पका रुपमा कोही तयार नभएको बताएका हुन् ।

उनले पार्टीलाई पूरानै अवस्थामा पुर्‍याएर सहकार्यमुखी र सहमतिको पार्टी बनाएर मात्रै सभापति देउवाले जिम्मेवारीबाट बाहिर जान पाउने बताए । युद्ध हारेको समयमा सैन्य कमाण्डरले युद्धको मोर्चा छोड्न नमिल्ने भन्दै उनले पार्टी चुनावमा पराजित भएकोबेला देउवाले नेतृत्व छोड्न नमिल्ने नेता साउदले बताएका थिए । मोटो गाई मरोस् भनेर सराप्दैमा मोटो गाई नमर्ने उखान स्मरण गर्दै साउँदले कसैले नेतृत्व छोड्नु पर्छ भन्दैमा देउवाले नेतृत्व नछोड्ने स्पष्ट पारे ।

‘‘एउटा कहावत छ, मोटो गाई मरोस भन्ने वित्तिकै मोटो गाई मर्दैन,’ उनले उखान स्मरण गर्दै भने, ‘कसैले देउवाले हट्नुपर्छ, जानुपर्छ, छाड्नुपर्छ भन्दैमा उहाँ देश र प्रजातन्त्रप्रतिको आफ्नो जिम्मेवारीबाट मुक्त हुन सक्नुहुन्न ।’

पार्टीमा सभापति देउवाको विकल्प खोजी गरिरहेका नेताहरुतर्फ इंगित गर्दै केन्द्रीय सदस्य साउँदले पार्टीभित्र राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कार्यकर्तामाझ उचित र बलियो ढंगले नेतृत्व गर्न सक्ने नेता नै नभएको दाबी गरे ।

‘‘कुनै पनि नेता जो तपाईं कहाँ आउनुहुन्छ, तपाईंसँग भन्नुहुन्छ, उहाँहरुलाई तपाईंले सोध्नुस् देउवालाई हटाएर कसलाई नेपाली कांग्रेसको नेता बनाउने,’ उनले कार्यकर्तामाझ भने, ‘देउवालाई हटाउन हामीसँग के विकल्प छ सम्बन्धितलाई सोध्नुस्, गोलमटोलको जवाफ दिएर सम्बन्धितहरु जाने छन् ।’

पार्टीभित्र सभापति देउवाभन्दा बृहत्तर नेतृत्व दिन सक्ने फलानो नेता हो भनेर भन्न सकिने अवस्था नभएको नेता साउँदले दाबी गरे । उनले कार्यकर्ताहरुलाई दृढतापूर्वक पार्टी सशक्तिकरणमा लाग्न नेता÷कार्यकर्ताहरुलाई आग्रह पनि गरे ।