नाकामा सयौं नेपाली अलपत्र, काँग्रेस नेता साउदले भने: नेपाल काठमाडौं बाहिर पनि हो

काठमाडौं । भारतबाट फर्केका सयौँ नेपाली यतिबेला नेपाल भारत सीमा नाकामा अलपत्र अवस्थामा छन् । भारतमा रोजागारी, दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका नेपालीहरु कोरोना भाइरस संक्रमणको त्रास फैलिएपछि आफ्नै मुलुक टेक्ने अभिलाशाले स्वदेश फर्केका हुन । तर उनीहरु सीमानामा पुग्दा नपुग्दै नेपाल लकडाउन भएपछि उनीहरु यतिबेला पूर्वको पानीट्याङ्कीदेखि पश्चिमको गड्डाचौकी नाकाको भारतीय भूमीमा अलपत्र छन् ।

पानीट्यांकीमा करिब सयभन्दा नेपाली अलपत्र अवस्थामा छन भने, यो संख्य जोगबनी, नेपालगञ्जसँग सीमा जोडिएको रुपैडिया, कैलालीको धनगढीसँग सीमा जोडिएको गौरीफन्टा हुँदै, कञ्चनपुरको गड्डा चौकीसम्म करिब दुई हजारभन्दा बढीको संख्यामा पुगेको त्यस क्षेत्रका कार्यरत पत्रकारहरुले अक्षरपाटीलाई बताए ।

सीमा क्षेत्रमा आइपुगेका उनीहरु नेपाल प्रवेशको अनुमति पर्खिरहेका छन् । नेपालमा लकडाउनको अवस्था भएकाले स्थानीय प्रशासनले कुनै निर्णय यतिबेलासम्म लिएको छैन । उनीहरु नाकामै समुहमा बसेर नेपाल प्रवेशको बाटो पर्खिरहेका छन । यसरी आएकाहरु समुहमा बुढापाका, बालबालिकासहित भएकाले कसैलाई कोरोना संक्रमण भएमा अन्यमा पनि संक्रमण हुनसक्ने खतरा देखिएको छ

नाकाबाट कसैलाई पनि प्रवेश गराउन आदेश नभएकाले उनीहरुलाई भारतीय सीमा क्षेत्रमै सुरक्षाकर्मीले रोकेको बताइएको छ ।
यस्तो अवस्थालाई लिएर पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एन पी साउदे यो समस्यालाई केन्द्रीय सरकारले गम्भिरतापूर्वक लिनुपर्ने धारणा राखेका छन ।

उनले १०औँ लाख नेपाली खुला सीमा भएको छिमेकी मुलुक भारतमा छन भन्दै सामाजिक सञ्जालमा लेखेका छन, ‘भारत लकडाउनको स्थिति आएपछि उनीहरु असुरक्षा, बेरोजगारी र घर फर्कने चाहनाले १० औ हजारको संख्यामा नेपाली निर्धारित पाँचवटै नाकाबाट देश फर्किन जम्मा हुँदैछन । देशभित्र अनियन्त्रित किसिमले छिराउँदा कोरोना फैलने डर छ, प्रवेश नगराउँदा केही दिनमा नै सीमामा ठूलो मानवीय समस्या आउँदैन ।’

नेता साउदले नेपाल काठमाडौं बाहिर पनि हो भन्दै आक्रोस समेत पोखेका छन । उनले यस्तो अवस्थामा पाँचवटै नाकाहरुमा स्वास्थ्यकर्मी, सेना, प्रहरी र प्रसाशनको संयोजनमा पाँच पाँच सय मानिस अटाउने अस्थायी क्वारेन्टाइन अस्पताल बनाएर आवश्यक चेकजाँचपछि सुरक्षित भित्रिने वातावरण बनाउने हो कि ? भन्दै सुझाव दिएका छन । उनले नेपाल काठमाडौं बाहिर पनि भएकाले संघीय सरकारले पाँचवटा नाकाहरुको जिम्मा स्थानीय प्रसाशनलाई दिनुभन्दा आफ्नै प्रत्यक्ष निगरानीमा राख्न पनि सुझाएका छन ।

झण्डै २० घण्टादेखि धनगढी र गड्डाचौकी नाकामा अलपत्र परेका नेपालीलाई सम्बन्धित जिल्लामा पु¥याउने व्यवस्था गर्न संघीय सरकारले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।