भारतीय नाका बन्द गर्न नेवि संघको माग, हवाई भाडा बढी नअसुल्न चेतावनी

काठमाडौं । सीमा जोडिएका भारतीय नाकामा आउजाउ गर्न बन्द गर्नुपर्ने माग कांग्रेस भ्रातृ संगठन नेविसंघले गरेको छ । नेपालसँग सीमा जोडिएका भारतीय प्रान्तहरुमा कोरोनाको प्रकोप फैलिँदै गएकाले नाकाहरुमा आउजाउ पूर्ण बन्द गर्न नेवि संघले सरकारसँग माग गरेको हो ।

नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुङ्गानाले आइतबार विज्ञप्ति प्रकाशित गर्दै कोरोनाले विश्व महामारीको रुप लिँदै गएकाले कोरोनाको संक्रम फैलिन नदिन सीमा बन्द गर्नु प्रभावकारी हुने बताएका छन् ।

संक्रमणको प्रभावकारी रोकथाम गर्न, नियन्त्रण गर्न तथा त्रासले दैनिक जनजीवन नखलबलियोस् भन्नेतर्फ एकसाथ सजगता अपनाउनु पर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनले हवाई सेवा संचालकले देशका हरेक रुटमा चार्टर उडानका नाममा बढी भाडा असुलेको र पहिले दिई आएको छुट सुविधा समेत हटाएको भन्ने खबर बाहिरिएकाले त्यसो नगर्न चेतावनी दिएका छन् । अक्षरपाटीले हवाई भाडा बढी लिने गरेको बारे समाचार प्रकाशित गरेको थियो ।

विज्ञप्तिमा काठमाडौंमा घर बहाल लिएर बसेका विद्यार्थीलाई संकट अवधिभर ५० प्रतिशत घरभाडा छुट हुने व्यवस्था मिलाउन, उपत्यकाबाहिर घर भएका र घर जान इच्छुक विद्यार्थीलाई निःशुल्क घर पठाउने व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।