प्रधानमन्त्री ओलीले पाए राष्ट्रिय परिचयपत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले ओलाीलाई परिचयपत्र हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र हस्तान्तरण गरिएको छ ।

सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार राष्ट्रका विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशत जनतालाई यो परिचयपत्र दिने कार्यक्रमअनुसार वितरण जारी छ । विभागले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिसकेको छ । सरकारले आगामी दुई वर्षभित्र मुलुकका सबै नागरिकलाई यो परिचयपत्र वितरण गरिसक्ने योजना बनाएको छ ।

राष्ट्रिय परिचय पत्रसमेत अध्यावधिक गर्नुपर्ने व्यवस्था अमिल्दो भएको भन्दै यसको आलोचना पनि सुरु भएको छ । राष्ट्रले दिने परिचयपत्र आजिबन हुनुपर्ने आवाज बलियो बन्दै गएको छ । तर अहिले वितरित परिचयपत्र रि–न्यु गर्नुपर्ने भएकाले यो जनताका लागि झण्झट र राष्ट्रका लागि व्यभार हुने एकथरीको मत छ ।