गायिका पाण्डेलाई म्युजिक अवार्ड

काठमाडौं । स्कुले उमेरदेखि नै गायनकलामा समर्पित गायिका प्रशन्ना पाण्डेलाई ‘इन्डस्ट्रियल पिस नेपाल म्युजिक अवार्ड’ प्रदान गरिएको छ ।

औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा सम्पन्न ‘इन्डस्ट्रियल पिस नेपाल म्युजिक अवार्ड २०७६’ मा गायिका पाण्डेलाई ‘म्यानेजमेन्ट च्वाइस अवार्ड’ प्रदान गरिएको हो । गायिका पाण्डेको ‘मरिहत्ते’ बोलको लोकपप गीतका लागि उक्त अवार्ड प्रदान गरिएको हो । हालसम्म दुई दर्जनभन्दा बढी गीतमा आवाज दिइसकेकी गायिका पाण्डेले लोकपप, आधुनिक, पप, तीज गीत, दसैं गीतलगायतमा स्वर दिइसकेकी छिन् ।

मरिहत्ते गीतका शब्द भुपेन्द्र खड्का हुन भने गीतमा संगीत हरि लम्सालले भरेका हुन् । उक्त गीतको म्युजिक भिडियोमा प्रियंका कार्की र विल्सनविक्रम राईले अभिनय गरेका छन् । गायिका पाण्डे आफैले पनि केही गीतहरुमा मोडलिङ गरेकी छिन् ।

कार्यक्रममा सर्वोत्कृष्ट गायक कुलेन्द्र वि.क. र सर्वोत्कृष्ट गायिका राधिका हमाल घोषित भए । विकले सालको पात गीतबाट सर्वोत्कृष्ट गायकको अवार्ड हात पारे भने गायिका हमालले लाहुरे गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड हात पारेकी हुन् । कार्यक्रममा पत्रकार, समाजसेवी, व्यवसायी, खेलाडीलगायत २६ जना व्यक्तिलाई सम्मान गरिएको थियो ।

पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम दिनेश डिसीले संचालन गरेका थिए । अवार्ड समारोहमा औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले स्वागत गरेका थिए । कलाकारलाई सम्मानको वातावरण बनाउन अवार्ड आयोजना गरिएको उनले बताए । कार्यक्रमको निर्देशक संचारकर्मी सूर्य चन्द हुन् ।