सेल्फ क्वारेन्टाइनमा नेताहरू, कार्यकर्ता भेटघाट र घरबाट निस्कन बन्द

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण नभए पनि यसको मानसिक त्रास भने निकै रफ्तारमा फैलिएको देखिन्छ । राजधानीका सडक, बजार र व्यापारिक केन्द्रहरु सुनसान हुँदै गएका छन् । हाजारौंको संख्यामा मानिसहरु राजधानी छोडेर गाउँ हिँडेका छन् ।

देश र जनताको नेतृत्व गर्ने विभिन्न पार्टीका शीर्षदेखि युवा नेता समेत ‘होम क्वारेन्टाइन’मा बस्न थालेका छन् । कोरोनाको त्रासले जनजीवन अस्तव्यस्त बनिरहेका बेला सरकारका मन्त्रीहरुले नै भेटघाट पातलो बनाएर ‘होम क्वारेन्टाइन’को बाटो अपनाएको समाचार बाहिरिन थालेको छ ।

सबैभन्दा पहिले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘होम क्वारेन्टाइन’मा बसेर उनी परिवारलाई समय र आफू सजग र सुरक्षित हुने कोसिस गरिरहेका छन् । शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउन उनले खुमलटारस्थिर घरकै पार्किङ्मा साइकल चलाइरहेको फोटो जीवन आचार्यले सार्वजनिक गरेका छन् ।

प्रचण्डजस्तै कोरोना भाइरसको बढ्दो खतराबाट जोगिन कांग्रेसका शीर्ष नेताहरूले पनि ‘होम क्वारेन्टाइन’को बाटो अपनाएका छन् । शीर्ष नेताहरुले छलफल र भेटघाट बन्द गरेको समाचार बाहिरिन थालेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले तीन दिन यता भेटघाट र छलफल बन्द गरेको उनको सचिवालयले जनाएको छ ।

कांग्रेसका नेता रामचन्द्र पौडेलले पनि नेता–कार्यकर्तासँगको भेटघाट बन्द गरेका छन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन उनले चैत ३ गतेबाट भेटघाटलाई पातलो बनाउँदै आएका थिए ।

विश्वव्यापी महामारीको रुपमा फैलिरेहको कोरोना भाइरसको संक्रमणबाट संसार भर आइतबार सम्म १३ हजार भन्दा बढीको ज्यान गइसकेको छ । यो अवस्थामा नेपालले पनि उच्च सतर्कता अपनाएको छ । यस क्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले कोरोना भाइरसको संक्रमणबाट जोगिन सावधानी अपनाउँदै भेटघाट र छलफल बन्द गरेका छन । दुई दिनदेखि उनले भेटघाट बन्द गरको सचिवालयले जनाएको छ ।

कोरोनाको संक्रमणबाट जोगिन समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि फोनबाटै पार्टीका नेता तथा कार्यकर्तासँग कुराकानी गर्न थालेको बताइएको छ । बाबुरामले फोनबाट पार्टीका कार्यकर्तासँग सम्पर्क गर्दै कोरोना भाइरसबाट जोगिन सचेत गराउने गरेको सचिवालयको भनाइ छ ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले भने आफूकहाँ आउने नेता कार्यकर्तालाई भेटघाट गर्न बन्द गरेका छैनन् । काँग्रेसका युवा नेता गगन थापा पनि आइतबारदेखि घरमै बस्न थालेका छन् । उनले घरमै बसेस परिवारलाई समय दिने र भेटघाट बन्द गरेको बताइएको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राजेन्द्र महतो पनि घरमै बस्न थालेका छन् । केही दिनदेखि उनले कोरोनाबाट जोगिन पार्टीका काम तथा कार्यकर्ता भेटघाटलाई स्थगित गरेको बताइएको छ । जोखिमको बेला ज्यान जोगाउने हरेक विधि अपनाउनु बुद्धिमानी हो । तर देश र जनताको नेतृत्व गर्ने नेताहरु नै होम क्वारेन्टाइनमा बसेपछि आम नागरिकको मानोबलमा भने फरक पारको देखिन्छ ।