पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणः सञ्चारकर्मी रवी लामिछानेसहित तीन पक्राउ

काठमाडौं । केही दिनअघि चितवनमा आत्महत्या गरेको भनिएका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा छानविन गर्न प्रहरीले न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाटै पक्राउ गरिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार अबेर साँझ उनीहरुलाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।

पत्रकार पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछाने र कँडेललाई पक्राउ गरेको हो । पुडासैनीले मर्नुअघि रेकर्ड गरेको भिडियो बुधबार सार्वजनिक भएको थियो । भिडियोमा पुडासैनीले ‘आफू मर्नुपर्नाको कारणर रवी लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्की भएको’ बताएका छन् ।