रानू मण्डलः सडकबाट सुपरस्टार

एजेन्सी । रेल्वे स्टेशनमा गाएर जिन्दगी गुजार्दै आएकी एक आम भारतीय नागरिक रानू मण्डल सडकबाट सुपरस्टारको यात्रामा छिन् । गीत गाएवाफत बटुवाले दिने दुई, पाँच रुपैयाँ बटुलेर साँझ विहानको छाक टार्ने रानू अब एउटै गीत गाएको लाखौं लिने हैसियतमा पुगेकी हुन् ।

पश्चिम बंगालको राणाघाट रेलवे स्टेशनमा कुनै बटुवाले उनले गाइरहेको चर्चित गायिका लता मंगेशकरको गीत ‘एक प्यारका नगमा है’ भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिदिएको थियो । त्यसपछि उनी भारतमात्र होइन दुनियाभर चर्चित भइन् ।

त्यही चर्चाका बीचमा उनलाई बलिउडका स्थापित गायक हिमेश रेशमियाले स्टार बनाउने यात्रामा डोर्याइदिएका हुन् । हिमेशले आफ्नो फिल्म ‘हैप्पी होडि) एन्ड हीर’का लागि रानूलाई ‘तेरी मेरी कहानी’ बोलको गीत गाउन लगाएर बलिउड स्टार बनाउने काम गरेका हुन् ।

हिमेशले यसका लागि रानूलाई करिब सात लाख रुपैयाँ दिए पनि उनले लिन नमानेको चर्चा बलिउडमा छ । हिमेशले ‘तपाईँलाई अब स्टारको यात्राबाट कसैले रोक्न सक्दैन, तपाईँभित्रको कलाको सम्मान दुनियाले गर्नेछ’ भन्दै सम्झाएर पारिश्रमिक दिएको भारतीय मिडियाले लेखेका छन् । रानू पछिल्लो समय भारतीय टिभी सिंगिङ शो सुपर सिंगिङको स्टेजमा पनि देखिएकी थिइन् ।