बाँके रेडक्रसको साधारण सभा सम्पन्न, साढे तीन करोडको बजेट

बाँके । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको बार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपालगञ्जमा भएको सभामा प्रदेश ५ का प्रदेश सभा सदस्य तथा प्रमख अतिथि सुरेन्द्रबहादुर हमालले मानव सेवा नै सबभन्दा ठूलो सेवा भएको बताए । उनले रेडक्रसको गतिविधि समुदायसम्म पुगेकोले रेडक्रसप्रति औला देखाउने ठाँउ नरहेको बताए ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले रेडक्रस सबैले माया गर्ने संस्था भएको बताए । नेरेसोका केन्द्रीय सदस्य अजीतकुमार शर्माले रेडक्रसको मानवीय सेवा नेपालभरी संचालन भइरहेको र हाल स्थानीय तहको समन्वयमा अझै व्यापक हुँदै गएको बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले रेडक्रससँग सहकार्य निरन्तर भइरहेको उल्लेख गर्दै प्रशासनबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दिकीले बार्षिक प्रगति प्रतिवेदन र २०७७/०७८ को लागि प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले बार्षिक आयव्यय र लेखा परीक्षण प्रतिवेदन तथा आगमी वर्ष २०७७/०७८ को लागि ३ करोड ४७ लाख ८५ हजार ५ सयको प्रस्तावित बजेट प्रस्तुत गरे ।

कार्यक्रममा १४ वटा उपशाखाका सभासद्, जिल्ला कार्यसमिति, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिति थियो ।

सञ्चारकर्मी सम्मानित
उक्त सभामा वर्षभरी विभिन्न गतिविधिमा उल्लेखनीय योगदान गर्ने व्यक्ति र संस्थालाई सम्मान गरिएको छ । सञ्चारतर्फ कालपृष्ठ राष्ट्रिय दैनिकलाई ५ हजार र सम्मान पत्र, उत्कृष्ट शिक्षक नायकतर्फ ज्ञानदीप माविका शिक्षक नायक राजेन्द्रराज सिग्देललाई ५ हजार र सम्मान पत्र, उत्कृष्ट उपशाखा तर्फ नेरेसो कोहलपुर उपशाखालाई सम्मानित गरिएको छ ।

यसैगरी वर्षभरी जुनियर तथा युवा रेडक्रस गतिविधिमा उल्लेखनीय कार्यसम्पादन गरेका उत्कृष्ट सर्कल घोषणा गरिएको थियो । उत्कृष्ट हुने सर्कलहरुमा प्रथम सिद्देश्वर मावि, दोश्रो ज्ञानोदय मावि, र तेश्रो लक्ष्मी मावि रहेका छन् ।