डुबान, बाढी र पहिरो पीडितको सहयोगका लागि रेडक्रसद्वारा जनशक्ति परिचालन

काठमाडौं । करिब दुई दर्जन नागरिकको ज्यान जाने गरी देशका अधिकाँश जिल्लामा परेको अबिरल बर्षाले सडक अबरुद्ध, डुबान, बाढी र पहिरोका घटना भए पनि शुरक्षा निकायहरुको सहकार्यमा नेपाल रेडक्रसले सहयोगको लागि जनशक्ति खटाएको छ ।

नेपाल रेडक्रसका विपद् व्यवस्थापन उप निर्देशक हरिमोहन श्रेष्ठका अनुसार पहिलो चरणमा जोखिममा परेका मानिसहरुको ज्यान जोगाऊने, उद्दार कार्यमा स्थानीय स्तरमा रेडक्रसकर्मीहरु लागेका छन् । बाढी, पहिरोले प्रदेश नं एक, दुई र तीनमा मा बढी जनधनको क्षति भएको रेडक्रसले जनाएको छ । डुबानको समस्या रौतहटलगायतको क्षेत्रमा गम्भीर बनेको पनि रेडक्रसद्वारा जारी नोटमा उल्लेख छ ।

बिहीबार बेलुकीदेखि परेको पानीले काठमाण्डौँको धर्मस्थलीमा डुबानमा परी अन्न र घर क्षति भएका अति प्रभावित १४ घर परिवारलाई सम्बन्धित वडाको सिफारिस एवं नगरपालिकाका उपमेयर भवनी डोटेल धिताल, वडा अध्यक्ष मधु कार्कीको उपस्थितमा नेपाल रेड्क्रस काठमाडौ जिल्ला शाखाले तत्कालीन राहत उपलब्ध गराएको जिल्ला शाखाका मन्त्री श्यामकाजी डोटेलले जानकारी दिए ।

यस्तै तीनथानाको पहिरो रोकथामको लागि दुई सय र कुलेश्वरको वाढी रोकथामको लागि दुई सयवटा बोरा नेपाल रेडक्रसले शसस्त्र प्रहरीलाई उपलव्ध गराएको छ । ती बोराहरुमा बालुवा भरी अस्थायी छेकवार गर्ने काम भइरहेको छ ।

डोटी र दार्चुलामा भारी वर्षा भइरहेको र क्षतिहुन सक्ने भएकोले खोला नदी छेउछाऊ र पहिरो जानसक्ने क्षेत्रमा समुदायलाई सतर्क रहन रेडक्रसले आह्वान गरेको छ ।

पर्सा जिल्लाका अधिकांश स्थान डुबानमा रहेको र छिपहरमाई, पकाहामैनपुर, र वीरगञ्ज महानगरपालिकाका खल्वाटोललगायत विभिन्न स्थानहरु डुबानमा रहेको तथा बाटो अवरुद्ध भएका छन् ।

नेपाल रेडक्रसले आपतकालीन सहयोगको लागि देशका विभिन्न स्थानमा राहत सामग्रीहरु पुर्याइसकेको र द्रुत सर्वेक्षण संगसंगै सामग्री वितरण गरिने रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए ।