शाहीले सञ्चालनमा ल्याए रोयल थकाली रेस्टुराँ

काठमाडौं । नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष पुष्पकुमार शाहीले ‘रोयल थकाली रेस्टुरेन्ट एन्ड लाउन्ज बार’ सञ्चालनमा ल्याएका छन् । दरबारमार्गस्थित सेतो ढोकासँगै संचालनमा ल्याइएको रेस्टुरेन्टको सोमबार चलचित्रकर्मी नीर शाहले उद्घाटन गरेका हुन् ।

बझाङका लोकेन्द्र रोकाय, अछामका नरेश शाही, बाजुराका सरोज शाही र डोटीका दिनेश कलेलसँग साझेदारी गरेर शाहीले एक करोडको लगानीमा ‘रोयल थकाली रेस्टुरेन्ट एन्ड लाउन्ज बार’ सुरु गरेको बताए । रोकाय पनि नेविसंघका पूर्व केन्द्रीय सदस्य हुन् ।

शाहीले आर्थिक उपार्जनका लागि रेस्टुरेन्ट सुरु गरेको प्रतिक्रिया दिए । ‘राजनीति पेशा होइन, समाज सेवा हो,’ शाहीले भने, ‘आफू चल्नका लागि हरेक राजनीतिकर्मीले कुनै न कुनै पेशा व्यवसाय गर्न जरुरी छ, मैले त्यही भएर यो पेशा सुरु गरेको हुँ ।’

राजनीति गर्नेहरुले त्यसैलाई पेसा बनाएर अकुत सम्पत्ति कमाउँछन् भन्ने नकारात्मक भावना बढेकाले आफूले राजनीतिलाई स्वच्छ र भ्रष्टाचारमुक्त बनाउन सकियोस् भनेर व्यवसाय सुरु गरेको शाहीले बताए ।