कोरोना भाइरसका कारण संसारभर ८५ करोड विद्यार्थीको पढाई प्रभावित

एजेन्सी । विश्वका विद्यार्थीमध्ये झण्डै आधा सङ्ख्यामा कोरोना भाइरसको प्रभावपछि विद्यालय जानबाट बञ्चित बनेका छन् ।

विश्वभरका ८५ करोड विद्यार्थीलाई कोरोना भाइरस सङ्क्रमणको प्रकोपबाट टाढा राख्न सम्बन्धित मुलुकका सरकारले गरेको निर्णयका कारण विद्यालय तथा विश्वविद्यालय नगएका संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सामाजिक संगठन (यूनेस्को)ले बुधबार जनाएको छ ।

यूनेस्कोले यसलाई शिक्षा क्षेत्रमा खडा भएको ‘अप्रत्याशित चुनौती’ भनेको छ । यूनेस्कोका अनुसार विश्वका ११३ मुलुकमा पूर्ण तथा आंशिकरूपमा विद्यालयहरू बन्द गरिएका छन् ।

यसमध्ये १०२ मुलुकमा विद्यालय पूर्णतया बन्द गरिएका छन् भने ११ अन्य मुलुकमा आंशिकरूपमा बन्द भएका छन् । यूनेस्कोका अनुसार आगामी केही दिनमा थप देशहरूले पनि विद्यालयलाई बन्द गरी विद्यार्थीका कारण सङ्क्रमण फैलिने सम्भावनालाई रोक्ने पहल भइरहेको छ ।