होचो कलाकारका मनोजको सहयोगार्थ ‘सेल्फी किङ्ग’को बिषेश शो

काठमाडौं । बिश्वका सबैभन्दा होचो कलाकारका रुपमा परिचित मनोज बिकको सहयोगार्थ फिल्म ‘सेल्फी किङ्ग’को बिषेश शो हुने भएको छ ।

नेपाल राष्ट्रिय मोडलिङ संघले आउँदो शनिबार अर्थात माघ २५ गते फिल्मको बिषेश शो आयोजना गर्न लागेको हो ।
बोनम्यारो रोगबाट पीडित मनोजको अहिले उपचार भइरहेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनको उपचारमा कठिनाई उत्पन्न भइरहेकोले विशेष शो गर्न लागिएको हो ।

‘बिश्वका होचा कलाकारको छबि बनाएका मनोज राष्ट्रका गौरव हुन्’, नेपाल मोडलिङ संघका केन्द्रीय अध्यक्ष दिनेश शाहीले भने, ‘उनको उपचारमा केही सहयोग पुगोस् भन्ने उदेश्यले फिल्मको बिषेश शो गर्न लागिएको हो ।’

बिषेश शोका लागि ‘सेल्फी किङ्ग’ निर्माता सुवास थापा र दिनेश राउतले फिल्म उपलब्ध गराएका छन् । फिल्मको बिषेश शोबाट उठेको सम्पुर्ण रकम मनोजलाई प्रदान गरिने बताइएको छ ।

बिषेश शो कमलपोखरी स्थित सिटी सेन्टरको बिग मुभिजमा बिहान ९ बजे हुनेछ । ‘सेल्फी किङ्ग’ अभिनेता बिपिन कार्कीले हाँस्यकलाकारको भुमिका निर्बाह गरेको फिल्म हो ।

विशाल सापकोटाको निर्देशन रहेको फिल्म एउटा हास्य कलाकारले आफ्नो व्यक्तिगत जीवनमा भोग्नु परेका समस्या र उसको बाध्यतामा आधारित छ ।