शास्त्रीय संगीतसाधक जोशीको ‘चुम्बक’ सार्वजनिक

काठमाडौं । करिब दुई दशकदेखि शास्त्रीय संगीत साधक तेजवती जोशीको नयाँ गीत सार्वजनिक भएको छ । ‘चुम्बक’ बोलको गीत डान्सिङ सङ भएको गायिका जोशीले बताइन् । टेकेन्द्र नेपालीको शब्द, संगीतमा तयार पारिएको गीत अकस्टिक स्टुडियोमा भएको हो ।

गीतको म्युजिक भिडियो पनि युट्युबमार्फत सार्वजनिक भएको छ । भिडियोमा सुनील क्षेत्री र अनिसा शर्माले अभिनय गरेका छन् । योगेन्द्रराज कर्निकारको प्रस्तुति रहेको गीत नयाँ पुस्तमाझ लोकप्रिय हुने विश्वास गायिका तेजवतीको छ ।गायिका जोशीको चुम्बक छैटौं सांगीतिक कोशेली हो ।

यसअघि उनले नेपाली र नेवारीमा गरि पाँचवटा गीतमा स्वर दिइसकेकी छिन् । त्रिभुवन विश्वविद्यालयबाट म्युजिक विषय लिएर फाइन आर्टमा स्नातकोत्तर गरेकी जोशी बालकालैदेखि संगीतमा अभिरुची राख्थिन् । ‘लैबरी सिङ्गिङस्टार’को जज समेत रहेकी जोशीको सांगीतिक रुची भने निकै पुरानो हो ।

‘नेवारी समुदायमा भजनकृतन भइरहन्थ्यो’, उनले भनिन्, ‘बचपनदेखि नै मलाई त्यो माहोलले संगीतसाधनमा प्रेरित गर्यो ।’ गाउँका सभा, डबलीमा हुने कार्यक्रममा बुवा इन्द्रबहादुर जोशी र आमा वशुमाया जोशीसँग उनले सहभागिता मात्र जनाइनन्, स्कुल पढ्दा विभिन्न कार्यक्रममा पनि भाग लिइन् ।

सानैदेखिको अभिरुचीलाई निखार्न उनले रेडियो नेपालमा स्वर परीक्षा दिइन् । सन १९९९ मा उनले रेडियो नेपालमा स्वर परीक्षा पास गरेदेखि उनी संगीतसाधनामै होमिइन् । कहिल्यै प्रचार नचाहने जोशी यही क्षेत्रमा निपुण हुन आफूलाई निखार्दै गइन् । उनले सन १९९७ मा एसएलसी पास गरेदेखि फाइन आर्टमा म्युजिक विषय लिएर अध्ययन गरिन् । शास्त्रीय संगीतमा भारतको अलाहाबादमा रहेको प्रज्ञा संगीत समितिबाट शास्त्रीय संगीत (भोकल)मा स्नातक गरेपछि उनले त्रिभुव युनिभर्सिटीबाट फाइन आर्टमै स्नातक र स्नातकोत्तर गरेको बताइन् ।

संगीत साधनासँगै संगीत अध्यापनमा सक्रिय भए पनि उनले खुलेर संगीत व्यवसाय भने गरिनन् । सन २००३ देखि ललित कला क्याम्पसमा ललित साँस्कृतिक कला समुहले गरेको प्रशिक्षण कार्यक्रममा एक महिना प्रशिक्षक भइन् । सन २००६ देखि २००८ सम्म तेजवतीले वेन्डी हाउस स्कुल बालुवाटारमा संगीत शिक्षकको रुपमा पढाइन् । हाल म्यारी पोपिन्स स्कुलामा संगीत शिक्षकका रुपमा कार्यरत उनी यसअघि धेरै ठाउँमा शिक्षक र प्रशिक्षकको भूमिकामा रहेको बताउँछिन् । शास्त्रीय संगीतको जगेर्ना र विकासका लागि उनको अध्यक्षतामा शंखरापुरा जयनमाला भजन कला समुह सक्रिय रहेको छ ।

‘पछिल्लो समयको सांगीतक लयलाई न्याय गर्दै चुम्बक सार्वजनिक गरेकी हुँ’, उनले भनिन्, ‘शास्त्रीय संगीतका लागि धेरै तयारी गरेकी छु, विस्तारै सार्वजनिक गर्छु ।’