१८ वर्ष मुनिकाले सुर्तिजन्य पदार्थ किन्न नपाउने, कानुन कार्यान्वयनमा जोड

काठमाडौं । सुर्तिजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ । नेपाल जनस्वास्थ्य सङ्घले सुर्तिजन्य पदार्थरहित दिवस मनाउने क्रममा आज आयोजित अन्तक्र्रियाका सहभागीले सुर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यमा नकारात्मक असर पार्ने हुँदा त्यसको न्यूनीकरणका लागि कानूनलाई लागू गर्नुपर्ने सुझाव र्दिए ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीले गर्भवती र १८ वर्ष नपुगेका व्यक्तिलाई सुर्तिजन्य पदार्थ खरीद तथा बिक्री गर्न नपाउने कानूनी प्रावधान रहेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेकामा चिन्ता व्यक्त गरे ।

नेपाल जनस्वास्थ्य सङ्घका केन्द्रीय अध्यक्ष श्रीकृष्ण भट्टले सुर्तिजन्य पदार्थरहित समाज निर्माणका लागि विभिन्न सामाजिक सङ्घ संस्थाले घर, परिवार, समुदाय र विद्यालयमा चेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने विचार राखे । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुर्तिजन्य पदार्थ (चुरोट, बिँडी र सिगार) को प्रत्येक खिल्लीमा लगाएको २५ पैसा स्वास्थ्य कर स्वागतयोग्य भएको भट्टले बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निर्देशक बद्रीबहादुर खड्काले धुम्रपानका कारण नागरिकहरुमा क्यान्सर, मुटुरोग, मधुमेह र दीर्घ श्वासप्रश्वासलगायत रोग देखा परेको बताए । यस्ता रोग निदानका लागि वर्षेनि ४७ अर्ब ३० करोड खर्च भइरहेको छ ।