‘उज्यालो अन्धकार’माथि परिचर्चा

नुवाकोट । निबन्ध संग्रह उज्यालो अन्धकारमाथि विदुरमा अन्तरसंवाद भएको छ । नुवाकोट साहित्य प्रतिष्ठानद्धारा आयोजित अन्तरसंवादमा टिप्पणीकारद्धय रामप्रसाद चालिसे र मुकुन्दराज अर्यालले संग्रहमाथि टिप्पणी गरेका थिए ।

टिप्पणीकार चालिसेले निबन्धमा आञ्चलिकता प्रयोग गरेर नेपाली सामाजिक परिवेशको स्पष्ट उल्लेख गरेकोमा निबन्धकारलाई बधाई दिए । उनले परदेशिएको पीडासँगै नेपालको वर्तमान परिवेश समेटिएकोमा गौरवसमेत गरे । टिप्पणीकार अर्यालले वर्तमान परिस्थिति कठपुतली बनेको व्यङ्ग्य निबन्धमा पाइएको उल्लेख गरे ।

यसैगरी अन्तरपार्टी महिला सञ्जालका पूर्व अध्यक्ष विन्दा अर्यालले निबन्ध क्षेत्रमा महिला लेखन औलामा गणिने मध्ये एक कुमारी लामा भएकी बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि रामकृष्ण भट्टले लामाको लेखनले नुवाकोटका महिलाहरुलाई लेखनमा प्रेरित गर्ने बताए । त्रिशुली वाङ्मय प्रतिष्ठानका कोषाध्यक्ष एवं कवि लक्ष्मी रुम्बाले निबन्धकारको बारेमा जानकारी गराएका थिइन् ।

प्रतिष्ठान संस्थापक अध्यक्ष एवं साहित्यकार श्रीराम श्रेष्ठले फरकफरक विधाका साहित्यकारहरुलाई निम्त्याएर छलफल र सम्मान गर्दै आइरहेको जानकारी गराए । क्रममा निबन्धकार लामालाई प्रतिष्ठानको आजिवन सदस्यता पनि प्रदान गरेको थियो ।

अतिथिहरु आह्वानका डा।अर्चना थापा, उमा सुवेदी, युवा व्यवसायी शम्भुकुमार लामा लगायत रहेका थिए । कार्यक्रममा गोपालप्रसाद गजुरेल, भगवती खनाल र सन्तोषी केसीले आआफ्नो रचना प्रस्तुति गरेका थिए ।

निबन्धकार लामा छत्रेदेउराली धादिङका स्थायी बासिन्दा हुन् । उनीले लामो समयदेखि निबन्ध विधामा कलम चलाउनुका साथै पुस्तकहरुको समिक्षा समेत गर्दै आइरहेकी छिन् ।

२०६४ सालमा स्थापित प्रतिष्ठानले यसअघि नुवाकोट साहित्य महोत्सव, साहित्य पदयात्रा, स्रष्टा सम्मान एवं पुरस्कार वितरण, साहित्यिक गोष्ठी, साहित्यिक विचार विमर्श लगायत कार्यक्रम गरिसकेका छन् ।

भगवती खनालद्धारा संचालित अन्तरसंवाद प्रतिष्ठानको अध्यक्ष रामकृष्ण अमरको अध्यक्षतामा सम्पन्न भएको थियो । ०७१ मा प्रकाशित ‘उज्यालो अन्धकार’ को दोस्रो संस्करण हालै बजारमा आएको छ।