ललितपुरको जुम्ला अर्थात महाङ्काल गाविसलाई रेडक्रसद्वारा एम्बुलेन्स उपहार

ललितपुर, महाङ्काल । गाउँगाउँमा सिंहदरबार पुगिसक्दा पनि ललितपुरको ‘रुकुम रोल्पा’भनेर चिनिने महाङ्काल गाउँपालिकालाई नेपाल रेडक्रस सोसाइटीले एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

रेडक्रसका केन्द्रीय अध्यक्ष संजीव थापाले गाउँपालिकाका अध्यक्ष रामचन्द्र दहाललाई पालिकाको कार्यालय गोटिखेलमै पुगेर एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

रेडक्रस ललितपुर जिल्ला शाखा अन्तर्गत सञ्चालित ईसिडीपी कार्यक्रम मार्फत नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय र ब्रिटिस रेडक्रसको अनुदानमा गाविसलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । आज पनि गाउँ गाउँबाट डोकोमै बिरामी आसार्नुपर्ने अवस्थाको अन्त्य गर्दै मानवीय सेवाका लागि एम्बुलेन्स हस्तान्तरण गर्न पाउँदा खुसी महसुस भएको रेडक्रसका केन्द्रीय अध्यक्ष संजीव थापाले बताए ।

रेडक्रस आधा शताब्दीभन्दा लामो समयदेखि सरकारको सहयोगी संस्थाको रुपमा रहँदै आएको र यसले विपद तथा संकटासन्न अवस्थामा रहेका व्यक्तिहरुलाई मानवीय सेवा प्रदान गर्दै आएको स्मरण गर्दै थापाले भने, ‘आज मानवीय सेवाका लागि एउटा सानो उपहार गाउँको सिंहदरबारलाई प्रदान गर्न पाउँदा गर्व महसुस भएको छ ।’

देशभर रेडक्रसले २५० भन्दा बढी एम्बेलेन्स संचालन गरेर मानवीय सेवा प्रदान गर्दै आएको स्मरण गर्दै थापाले भने, ‘अन्य ठाउँमा हामीले सहयोग मागेर एम्बुलेन्स सञ्चालन गरेका थियौँ, महांकालमा हामीले सहयोग दिएर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन पाउँदा नयाँ अनुभूति भएको छ ।’ उनले एम्बुलेन्स सहयोगका लागि आर्थिक व्यवस्थापन गरिदिने ब्रिटिस रेडक्रसलाई पनि धन्यवाद दिए ।

रेडक्रसले उपलब्ध गराएको एम्बेन्स महाङ्कालका बासिन्दाको मानवीय सेवामा गाउँपालिकाको आर्थिक स्रोत तथा व्यवस्थापनमा सञ्चालन गरिने पालिकाका अध्यक्ष रामचन्द्र दहालले प्रतिवद्धता व्यक्त गरे । उनले यहाँको विकटतालाई सहयोग पुर्याउन रेडक्रसले लगाएको गुन स्मरणीय हुने बताए । ‘एम्बुलेन्स हस्तान्तरण भएको छ’, उनले भने, ‘यो लिन जति सुखद र सुखानुभूति भएको छ, यसको व्यवस्थापन निकै जटिल छ ।’ तर पनि अब यस क्षेत्रका जनतालाई यो सेवा निरन्तर प्रदान गर्ने प्रतिवद्धता पनि अध्यक्ष दहालले गरे ।

रेडक्रसका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले सरकारको मानवीय सेवामा सहयोग पुर्याउने निकायका रुपमा रहेको रेक्रसले स्थानीय सरकारसँग मिसिएर यहाँका जनतालाई सेवा दिन पाउँदा गर्व लागेको बताए । उनले भने, ‘साँच्चै खाँचो परेको क्षेत्रलाई एम्बुलेन्स दिन पाउँदा सुखद अनुभूति भएको छ ।’

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमला लामा तामाङले आर्थिक विपन्न परिवारलाई राहत दिन रेडक्रसले आफूहरुको अनुरोध सुनिदिएकोमा कृतज्ञता व्यक्त गरिन् । उनले निकै विपन्न परिवारलाई एम्बुलेन्स सेवा प्रदान गर्दा राहत प्रदानका लागि गाउँपालिकासंग आफूले अनुरोध गर्ने बताइन् । उनले थापाथली पुल तर्नेवित्तिकै सुरु हुने ललितपुरको तीन भन्ज्याङ पारीको पीडा बुझिदिएकोमा रेडक्रसलाई धन्यवाद दिइन् ।

रेडक्रस ललितपुर शाखाका सभापति बाबुराजा महर्जनको सभापतित्वमा भएको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा रेढक्रसका निर्देशक तथा सञ्चार विभाग प्रमुद दिव्यराज पौडेल, निर्देशक सागर श्रेष्ठ, ब्रिटिस रेडक्रसका प्रतिनिधि सोनाक्षी दे, गाउँपालिकाको विभिन्न वडाका वडाध्यक्ष, रेडक्रसका कर्मचारीलगायतको उपस्थिति थियो ।