महांकाललाई रेडक्रसद्वारा स्वास्थ्य चौकी हस्तान्तरण

महांकाल । महाँकाल गाउँपालिकाको वडा नं ५ नमन डाँडामा नेपाल रेडक्रसले चन्दनपुर स्वास्थ्य चौकी भवन निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरेको छ । नेरेसो केन्द्रीय अध्यक्ष संजीव थापाले गत वर्ष पुस १२ मा शिलन्यास गरेको कर्मचारी आवास सहितको दुर्इतले नवनिर्मित भवन संघीय सभाका सांसद नवराज सिलबालले उद्घाटन गरेका हुन् ।

रेडक्रसले सो निर्माणबाहेक थप २ वटा स्वास्थ्य चौकीलाई उपकरण समेत उपलव्ध गराएको रेडक्रसका संचार निर्देशक दिव्यराज पौडेलले अक्षरपाटीलाई जानकारी दिए । स्वास्थ्य चौकीका अहेव कलाधर नेपालीले भने, ुवर्थिङ सेन्टर फोहर र साँघुरो थियो, फोहर डिस्पोज गर्ने व्यवस्था थिएन, रेडक्रसले ती समस्या समाधान गरिदिएको छ ।ु

गाउपालिका उपाध्यक्ष कमला लामा तामाङले एक वर्ष भित्रै दुर्गम स्थानमा निर्माण सम्पन्न भई समयमै हस्तान्तरण भएको यो ललितपुरमै नौलो कुरा भएको बताइन् । उनले भनिन्, ‘विकट वडाहरुमा सञ्चालित रेडक्रसको सामुदायिक विकास सबलिकरण कार्यक्रमले जनता निकै खुसी भएका छन् ।’

सबलिकरण कार्यक्रम लोकप्रिय
गोटीखेल ललितपुरकी गोमा परियार आफ्नो गाँऊमा शौचालय, धारा, तरकारीबारी जस्ता क्षेत्रमा गएको नौ महिनामा आएको परिवर्तन देखेर दङ्ग छन् । गोमाले आफैले रेडक्रसको सहयोगमा पाएको ३२ हजार पाँचसय नगदबाट पहिले नगरेको तरकारी खेती सुरु गरेकी गरी पहिलो चरणको १५ हजार आम्दानीले लुगा सिलाऊने परम्परागत पेशालाई पनि विस्तार गरेकी छिन् । उनको आम्दानी दोव्वर भएको छ ।

गोमाजस्तै महाँकाल गाउपालिकाको ३, ४ र ५ नम्बर वडामा ६ सय २३ घरधुरीका मानिसले जीविकोपार्जन सुधारको लागि नगद सहयोग पाएको नेरेसो सञ्चार विभागका निर्देशक पौडेलले जानकारी दिए । छ वटा विऊ बोका, २० वटा स्प्रे मेशिन, गोठ सुधार, शौचालय निर्माणमा नगद सहयोग पनि समुदायका विपन्न मानिसहरुले पाएका छन् ।

बजारसम्म तरकारी लैजान तथा वेच्न सहयोगार्थ कृषि समुह मार्फत २० वटा जोख्ने मेशिन, ४ सय वटा क्रेटहरु पनि सहयोग भएको छ । बेलायती रेडक्रसको सहयोगमा सबलिकरण कार्यक्रममार्फत् ३ वटा खानेपानी योजना सम्पन्न भई १०४ वटा घरमा धारा जडान भएको छ । कार्यक्रम संयोजक क्षितिज आचार्यका अनुसार पानी संकलन र संरक्षणको लागि ४ वटा प्लास्टिक पोखरी निर्माण, गोरेटो बाटो निर्माण तथा एउटा पुल निर्माण जस्ता गतिविधिका साथै तरकारी खेती तालिम स्थानीयले असाध्यै रुचाएको पाइएको छ ।

नेरेसोका कार्यकारी निर्देशक उमेरप्रसाद ढकालले नेपाल रेडक्रसका निकायहरुले स्वास्थ्य, खानेपानी, विपद पूर्वतयारी र संस्थागत विकासको क्षेत्रमा आवश्यकता र स्रोतको उपलव्धताका आधारमा देशभरिका स्थानीय निकायसँग सहकार्य बढाउँदै गएको जानकारी दिए ।