महिलामा कालिका र पुरुष पिएफएलाई उपाधि

धनगढी । धनगढीको जुगेडामा आयोजित भिडब्लु प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत महिलातर्फ कालिका युवा क्लब र पुरुषतर्फ पिएफए अत्तरियाले उपाधि हात पारेका छन् ।

धनगढी उपमहानगरपालिका १२ जुगेडामा मनकामना युवा क्लबले आयोजना गरेको भिडब्लु प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिताको महिलातर्फको खेलमा सुर्मादेवी एकेडेमीलाई हराउँदै कालिका युवा क्लबले उपाधि जितेको हो । पुरुष तर्फको खेलमा सुदूरपश्चिम–११ लाई हराउँदै पिएफए अत्तरिया विजेता बनेको हो ।
मनकामना युवा क्लबको खेल मैदानमा भएको महिलातर्फको फाईनलमा कालिका युवा क्लबले सुर्मादेवी एकेडेमीलाई २–१ ले हरायो । महिला तर्फको विजेता बनेको कालिकाले नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको सुर्मादेवीले नगद १० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ । महिला तर्फ ७ टीमले सहभागीता जनाएका थिए ।

पुरुष तर्फको फाईनलमा पिएफए अत्तरियाले सुदुरपश्चिम–११ स्पोर्टस क्लबलाई २–० ले हराएर उपाधि जितेको छ ।

प्रतियोगिताको पुरुष तर्फको विजेता बनेको पिएफएले नगद ७५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको सुदूरपश्चिम–११ ले ४१ हजार नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

माघ ११ गतदेखि सुरु भएको भिडब्लु प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगितामा पुरुष तर्फ १६ टीमले सहभागीता जनाएका थिए ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक समारोहका वीच धनगढी उपमहानगरपालिका मेयर नृप ओडले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको मुख्य प्रायोजकमा वानस्टप अटोमोवाईल्स रहेको थियो ।