क्यान्सरका कारण नेपालमा हरेक वर्ष २० हजार मानिसले ज्यान गुमाउँछन्ः डा. पौडेल

४० वर्ष नाघेका महिलाले पाठेघरको मुख र ५० नाघेका पुरुषले फोक्सोको परीक्षण गर्न सुझाव

काठमाडौं । नेपालमा सूर्तीजन्य पदार्थको असर, वातावरणीय प्रदुषण, अत्याधिक मात्रामा विषादीको प्रयोग र आधुनिक जीवनशैलीका कारण प्रत्येक वर्ष २० हजार मानिसले क्यान्सर रोगका कारण जीवन गुमाइरहेको वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले बताएका छन् ।

मंगलवार काठमाडौंस्थित लोयल्टी एकेडेमीमा क्यान्सर काउन्सिल नेपालको आयोजना र नेपाल टेलिकमको प्रायोजनमा ‘विश्वक्यान्सर दिवस’को अवसरमा सञ्चालित अन्तरक्रियामा प्रा. डा. पौडेलले उक्त कुरा बताएका हुन् ।

उनले ३० देखि ५० प्रतिशत क्यान्सर खानपान र जीवन शैलीका कारणले गर्दा लाग्ने हुँदा यसबाट जोगिन सक्रिय जीवन बिताउनुपर्ने सुझाव दिए । यसबाहेक सुर्तीजन्य पदार्थबाट टाढा बस्नुपर्ने उनको भनाइ थियो ।

क्यान्सरकै कारण विश्वमा प्रत्येक वर्ष १ करोड मानिसले ज्यान गुमाउनु परेको बताउँदै डा. पौडेलले नेपालमा पनि प्रत्येक मानिसलाई क्यान्सर रोगबाट जोगिन सचेत गराउनुपर्ने बताए ।

नेपालमा अभैm पनि ‘क्यान्सर लागेपछि बाँच्न सकिँदैन्’ भन्ने भ्रम रहेकोले त्यसलाई हटाउनुपर्ने पनि उनले बताए । उनले भने, ‘सुरुवाती अवस्थामै क्यान्सर रोग पहिचान र उपचार गर्न सके उपचार खर्च कम हुने र उपचारको प्रभावकारिता बढिहुँदा बिरामीलाई जतिसक्दो चाँडो अस्पताल जान प्रोत्साहन गर्नुपर्छ ।’

उनले वर्षको एक दिन क्यान्सर दिवन मनाउनुभन्दा समाजमा प्रत्येक व्यक्तिले क्यान्सर रोग न्यूनीकरणका लागि अरुलाई सुर्तीजन्यपदार्थ त्याग्न प्रोत्साहित गर्नुपर्ने सुझाव दिए । ‘विकसित देशमा जनचेतना, समयमा नै रोगको पहिचान र उपचार विधिमा भएको विकासले क्यान्सर रोगबाट मर्ने संख्यामानिकै कमी आएको छ,’ उनले सुनाए ।

उनले ४० वर्ष नाघेका महिलाले नियमित रुपमा पाठेघरको मुखको परीक्षण गराउनुपर्ने सल्लाह दिए । भने, ‘त्यस्तै ५० वर्ष नाघेका पुरुषले फोक्सोको क्यान्सरबाट जोगिनका लागि पनि नियमित परीक्षण गराउनुपर्छ ।’

त्यस्तै, कार्यक्रममाक्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले क्यान्सर, मुटु, दम, मधुमेह रोग रोकथामको लागि व्यापक जनचेतना जगाउनुपर्ने बताए । नयाँ पुस्तालाई सुर्तीजन्य पदार्थबाट जोगाउनको लागि किशोर किशारीलाई अभिभावकले विशेष ध्यान दिनुपर्ने कडरियाको भनाइ छ ।

लोयल्टी एकेडेमीका प्रिन्सिपल योगेशचन्द्र सम्हायेले क्यान्सर काउन्सिल नेपाल र नेपाल टेलिकमलाई जनचेतनामूलक कार्यक्रम संचालन गरि क्यान्सर रोगबारे जानकारी प्रदान गराएकोमा खुशी व्यक्त गरे ।