भ्रमण वर्ष सफल पार्न सबैसँग समन्वय भएको छः मन्त्री भट्टराई

काठमाडौं । नेपाल भ्रमण वर्षलाई सफल पार्न कुनै कमीकमजोरी हुन नदिन सरोकारवाला सबै पक्षसगँ समन्वय गरेर काम गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बताएका छन् ।

प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री भट्टराईले अन्तरराष्ट्रिय जगतमा नेपालको पर्यटन प्रवर्धनका लागि उत्साहजनक सन्देश पु¥याउन गृहकार्य भइरहेको जानकारी दिए ।

मन्त्री भट्टराईले भने, ‘नठानेको र नसोचेको विषय कोरोना नोवल भाइरसले केही असर पु¥याएको छ, पर्यटन वर्षका लागि जनशक्ति र स्रोत हामीसँग कमै छ, तथापि, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सरसफाइ, भौतिक पूर्वाधार निर्माण र अध्यागमन कार्यालयमा कामका हिसाबले निकै सुदृढ देखिएको छ ।’

२०२० लाई मुलुकमा पर्यटन प्रवद्र्धनका सन्दर्भमा सिकाइ र अनुभव लिने वर्षका रुपमा लिएर विशेषज्ञले बनाउने कार्ययोजनाका आधारमा २०२० देखि ३० को समयलाई पर्यटन दशकका रुपमा मनाइन लागेको उनले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको हुँदा पर्यटन विकास क्षेत्रको विकासका लागि तीनै तहका सरकारको समन्वयमा कार्यक्रम बनाएर काम गर्न सुझाव दिए ।

उनले भने, ‘नेपाल घुम्न आउने पर्यटकको आकर्षणको केन्द्र ठमेलमा खाल्टा, हिलो र धुलोबाट ग्रस्त छ, यसमा सुधार ल्याउनुपर्छ, पर्यटकप्रति गरिने व्यवहार संस्कार युक्त हुनुपर्छ, पर्यटकका लागि सुरक्षा, सजिलो पूर्वाधार, सफासुग्घर र हरियाली वातावरण, उत्सुकता जगाउने नयाँ चीज वस्तु हामीले दिनुपर्छ ।’

पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले पर्यटन वर्ष मनाउँदै गरेको अवस्थामा नेपालको पर्यटनको केन्द्रका रुपमा रहेका ठमेलमा बिग्रीएकाढल र खाल्टाखुल्टीले तयारी पर्यप्त भएन कि भन्ने प्रश्न उब्जेको देखिन्छ भन्ने धारणा राखे ।

पूर्वपर्यटनमन्त्री भीमबहादुर रावलले सभ्यता, संस्कृति र आफ्नोपन देखाएर समृद्धिका लागि अर्थ जुटाउने तथा अन्तर्राष्ट्रियजगत्सँग मित्रवत् सम्बन्ध सुदृढ तुल्याउन योगदान पु¥याउने पर्यटन क्षेत्रको विकास र विस्तारका लागि अनुकूल वातावरण र सुशासन प्रणाली मिल्दोजुल्दो हुनुपर्ने बताए ।