वडाध्यक्षको हत्या प्रकरणः सिआइबीसहितको टोलीले सघन अनुसन्धान गर्दै

अछाम । पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामीको हत्यालाई लिएर घटनास्थलको सघन अनुसन्धान शुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौंदेखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान शुरु गरेको हो ।

मङ्गलबार बिहानदेखि मृतक वडाध्यक्ष धामीको शव र घटनास्थललाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान शुरु गरिए पनि बुधबार बिहान ७ बजेदेखि कुकुर ट्यापिङसहित घटनास्थल र एक–दुई किलोमिटर वरपरको क्षेत्रमा सर्च गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता, प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

घटनास्थलमा काठमाडौँदेखि आएका सिआइबीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमान्डमा तीन र धनगढीबाट एउटा कुकुरसहित प्रहरी निरीक्षक दीपक पातलीको कमान्डमा छजना प्रहरी परिचालन भएका छन् । अछाम प्रहरीको सम्पूर्ण संयन्त्र परिचालन भएको प्रवक्ता अवस्थीले बताए ।

बजार बन्द

घटनाको निष्पक्ष छानबिन हनुपर्ने माग गर्दै बिहानदेखि विनायक बजार बन्द गरिएको छ । मृतकका आफन्त र स्थानीयवासीले बिहानदेखि चक्काजाम गरेका छन् । विनायक बजारका पसलहरु बन्द छन् । आफन्तहरुले अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन् ।

मङ्गलबार बिहान विनायक बजारबाट ३० मिनेट टाढा रहेको गैरीगाउँको भैँसीगोठमा वडाध्यक्ष धामी मृतावस्था भेटिएका थिए । ४० वर्षीय धामी शिक्षण पेशाबाट राजीनामा गरेर नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।