बाजुरामा भाइरल ज्वरोेले दुई जनाको मृत्यु

बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिकामा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ । गाउँपालिका–१ साप्पाटा जोरुका ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावलको ज्वरोले मंगलबार मृत्यु भएको वडाध्यक्ष जनकबहादुर रोकायाले जानकारी दिए ।

घरका पाँच जना बिरामी परेकामध्ये कडराको मृत्यु भएको र प्रभावित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरिएको साप्पाटा स्वास्थ्य चौकी प्रमुख वृज विकले बताए । ज्वरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी खटिएका वडाध्यक्ष रोकायाले बताए ।

उनका अनुसार वडा नं १ को सिङ्गो गाउँ ज्वरोले प्रभावित बनेको छ । स्वामीकार्तिक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भक्त कैलाले औषधि लिएर स्वास्थ्यकर्मीको टोली पठाइएको बताए ।

अत्याधिक चिसोका कारण रुघाखोकी, ज्वरोलगायतका बिरामी परेका उनले जानकारी दिनुभयो । हिमाली गाउँपालिका–६ घुलाचौर ज्वरोले प्रभावित बनेको थियो ।