अमेरिकी राष्ट्रपति ट्रम्पको भाषण रोष्ट्रममै च्यातिन सभामुख न्यान्सीले

वासिङ्टन/एजेन्सी । अमेरिकी इतिहासमा संसदको सभामुखले कुनै राष्ट्रपतिले संसदमा गरेको वार्षिक सम्बोधन भाषण संसदकै रोष्ट्रममा च्यातिदियो भन्ने कल्पनासम्म गर्न सकिन्न । तर यस पटक अमेरिकी कङ्ग्रेसकी सभामुख न्यान्सी पेलोसीले सबैलाई आश्चर्य पार्दै राष्ट्रपति ट्रम्पको भाषणको प्रति रोष्ट्रममै च्यातिदिएकी छिन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कङ्ग्रेसमा ‘स्टेट अफ दी यूनियन’ नामको वार्षिक सम्बोधन भाषण समाप्त गरेलगत्तै सभामुख पेलोसीले ट्रम्पको भाषणको प्रतिलाई दुई टुक्रा पारेकी हुन् ।

यो घटना राष्ट्रपति ट्रम्पकै सामुन्ने भएको थियो । राष्ट्रपतिले भाषण समाप्त गरेर हिँड्न लाग्दा पेलोसीले उक्त कागज अरु तीन चार टुक्रा पारेको टेलिभिजन फुटेजमा देखिएको छ ।

उक्त घटनापछि संसद भवन क्यापिटलमा संवाददातासँग कुरा गर्दै सभामुख पेलोसीले भनिन्, ‘राष्ट्रपतिको भाषण झुठको पुलिन्दा हो ।’ सभामुखले राष्ट्रपतिको सम्बोधन भाषणको कपी च्यात्ने कुनै पूर्व योजना नरहेको पेलोसीका निकटवर्तीले नाम नभन्ने शर्तमा बताएका छन् ।

रिपब्लीकन पार्टीका सांसदहरुले भने सभामुखको रबैया निन्दनीय रहेको आरोप लगाएका छन् । ‘अबको राष्ट्रपति चुनावमा पनि सभामुख पेलोसीले स्वतन्त्र मतदातालाई त्यसैगरी तोड्दै हुनुहुन्छ’ राष्ट्रपति ट्रम्पका चुनावी प्रचारका प्रवक्ता टिम मर्टागले बताए ।

लुजियानाका रिपब्लीकन मतगणक स्टिभ स्कालिजले ट्वीट गर्दै आक्रोश पोखेका छन्, ‘राष्ट्रपतिको भाषणले अमेरिकी नागरिकलाई समान व्यवहार गरेको थियो । तर पेलोसीले त्यसलाई च्यातचुत पार्ने निर्णय गर्नुभयो ।’

केही महिना अघिमात्र अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ ले राष्ट्रपति ट्रम्पले कङ्ग्रेसलाई बेवास्ता गरेको र न्यायमा अवरोध गरेको भन्दै महाभियोग प्रस्ताव पारित गरेको थियो । महाभियोग प्रस्ताव अहिले माथिल्लो सदन सिनेटमा विचाराधीन अवस्थामा छ ।