सुदूरपश्चिमका सांसदहरुको एउटै प्रश्न: २८ वर्षदेखि पश्चिम सेती किन अलपत्र ?

सरकारमा रहुञ्जेल पश्चिम सेतीबारे चुप लाग्ने र हटेपछि बोल्ने प्रवृत्ति

काठमाडौं । बहुप्रतिक्षित ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत जलासययुक्त आयोजना निर्माणमा अलमल भएको भन्दै सुदूरपश्चिमका सांसदहरुले एकमुख भएर आपत्ति जनाएका छन् । उनीहरुले तत्काल काम अगाडि बढाउन दबाब दिएका छन् ।

बिहीबार बोलन्या थली धनगढीले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको अन्र्तक्रियामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरुले २८ वर्षदेखि आयोजना अलपत्र परेकोमा गम्भीर ध्यानाकर्षण गराएका हुन् । सांसदहरुले २८ वर्ष पूर्व सुरु हुन लागेको पश्चिम सेती परियोजना किन बन्न नसकेको भनी उठाए ।

नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटि सदस्य भीम रावलले बहुमतको सरकार आएकाले पश्चिम सेती परियोजना निर्माण अगाडि बढाउन सक्ने बताए । उनले भने, ‘नेपालमा विभिन्न समयमा सरकार परिवर्तन भई राजनीतिक अस्थिरताका कारणले परियोजनाले पूर्णता पाएन । अहिले दुई तिहाईको सरकार भएकाले परियोजना कार्यान्वयन गर्न सक्छ ।’

लामो समयदेखि निर्माण गर्न थुप्रै सरकारले पहल गरेपनि कार्यान्वयनमा ल्याउन नसकेको भन्दै उनले आलोचना पनि गरे । विदेशी कम्पनीहरुलाई पहल गर्दा पनि पूँजी व्यवस्थापन गर्न नसक्दा कम्पनीहरुले छाडेको बताए । परियोजना निर्माण हुनुपर्छ भन्नेमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गरिरहेको सांसदहरुको एउटै मत रहेको समेत बताए ।

माधवकुमार नेपाल नेतृत्वको सरकार हुँदा यस परियोजनाको विषयमा चीनसँग सम्झौता भएको थियो । रावलले भने, ‘सरकार केही दिनपछि ढल्यो र सो परियोजनाको काम रोकियो ।’ पश्चिम सेतीबारे सरकारलाई गम्भीर हुन उनले आग्रह गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद दिलेन्द्रप्रसाद बडुले सुदूरपश्चिमलाई सँधै अपहेलित गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे । २८ वर्ष अगाडी शुरु भएको परियोजना अहिलेसम्म किन बन्न सकेको छैन् भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले प्रश्न गरे, ‘२८ वर्षसम्म किन परियोजना अगाडि बढ्न सकेन ?’ विकासका लागि सुदूरपश्चिमेली एकजुट हुने उनको भनाइ थियो ।

दुईवटा बजेट ल्याई सकेको वर्तमान सरकारले अर्को बजेट भाषणमा उक्त परियोजनाको बजेट छुट्याउनु पर्नेमा जोड बडुले दिए । रेल र पानी जहाज ल्याउन लागेको सरकारले केन्द्रलाई मात्र ध्यान दिएको बताए । रेल र पानी जहाजको बजेटले १० आठवटा परियोजना बन्न सक्ने बताए ।
दुई पक्षीय वार्ता नभएको कारण चिनियाँ कम्पनी यस परियोजनाबाट हटेको गुनासो समेत गरे । सो परियोजनाको बजेट सरकारलाई छुट्याउन आवश्यक रहेका बताए । सो परियोजना राष्ट्रिको हितमा रहेको जनाए ।

डोटीका नेकपा सांसद प्रेम आलेले सरकारमा रहेकाहरु पश्चिम सेती अगाडि बढाउन गम्भीर नभएको आरोप लगाए । उनले भने, ‘सरकारमा रहुञ्जेल पश्चिम सेतीबारे चुप लाग्ने र हटेपछि बोल्ने प्रवृत्ति छ ।’ सन् १९५७ मा अष्ट्रेलियन कम्पनी र सन् २०१२ मा चिनियाँ कम्पनीहरु काम गर्न खोज्दा बजेटको छिनोफानो नभएको कारण दुवै कम्पनीहरुलाई निर्माण गर्न रोक लगाइएको आलेले बताए ।

२८ वर्षमा थुप्रै सरकार बने पनि निर्माणका लागि गम्भीरतापूर्वक पहल नगरेको उनको भनाइ थियो । पश्चिम सेती वर्तमान सरकारको पालामा काम हुने उनको दावी थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद बद्री पाण्डेल पश्चिम सेती परियोजना घर न घाट को भएको बताए । उनले भने, ‘सरकारले परियोजनालाई उच्च प्राथमीकतामा राख्नुपर्छ । परियोजना प्रति राज्यले ध्यान नदिंदा अलपत्र परेको छ ।’

राष्ट्रिसभाका सांसद चक्र प्रसाद स्नेहीले पश्चिम सेती परियोजना दिन प्रति दिन सेलाइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । राष्ट्रिय सभाको दीगो विकास समितिकी सभापती तारादेवी भट्टले सो परियोजना जतिसक्दो छिटो अगाडि बढ्नुपर्नेमा जोड दिइन् । कार्यक्रम आयोजक बोलन्या थली धनगढीका संयोजक यादव जोशीले पश्चिम सेती परियोजनालाई सरकारले प्याकेजको रुपमा अगाडि बढाउनुपर्ने माग गरे ।

कार्यक्रममा अभियन्ता हेम थापाले सम्पूर्ण क्षेत्रको विकास भइरहँदा सुदूरपश्चिमको विकास किन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा सुदूरपश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरु शेरबहादुर कुँवर यज्ञ बोगोटी, लक्ष्मी चौधरी, बीना बुढाथोकी, राम बहादुर विष्टलगायतको उपस्थितिे थियो ।