बैतडीका १२ वडामा छैन स्वास्थ्यचौकी

बैतडी । गाउँ गाउँमा सिंहदरबार पुगेको साढे दुई वर्ष भइसक्यो तर बैतडीका ८४ मध्ये १२ वडामा अझै स्वास्थ्यचौकी छैन । ती वडामा आधारभूत स्वास्थ्य सेवा प्रदानका लागि अप्ठ्यारो भएको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।

डिलाशैनी गाउँपालिका–६, दोगडाकेदार गाउँपालिका–२, मेलौली नगरपालिका वडा नं १, ४ र ८ शिवनाथ गाउँपालिका वडा नं १, ३, र ५ सिगास गाउँपालिका वडा नं ४ र ७ तथा सुर्नया गाउँपालिका २ र ८ मा स्वास्थ्यचौकी छैनन् ।

वडामा स्वास्थ्यचौकी नहुँदा सेवा लिन नागरिकलाई अप्ठ्यारो हुने गरेको सुर्नया गाउँपालिका–८ का वडाध्यक्ष आनन्दसिंह बोहराले जानकारी दिए ।

स्वास्थ्यचौकी नभएका वडामा आधारभूत स्वास्थ्य सेवा प्रदानमा असहज भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । यसैबीच स्वास्थ्यचौकी नभएका वडामा चालु आर्थिक वर्षदेखि आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण हुने उनको भनाइ छ ।

गाउँ गाउँमा सिंहदरबार भने पनि यस क्षेत्रमा स्वास्थ्य चौकी समेत नहुँदा सामान्य बिरामी हुँदा पनि अर्को वडा वा सदरमुकाम धाउनुपर्ने पीडा यहाँका जनताले भोग्नु परिरहेको स्थानीय नेता तथा नेविसंघका पूर्व अध्यक्ष नरेन्द्र चन्दले बताए ।