कोरोनाको डरले पर्यटक घटे, व्यवसायी भन्छन्ः कोरोना छैन, ढुक्क हुनुस

चितवन । चीनमा महामारिका रुपमा फैलिएको नोबेल कोरोना भाइरसका कारण चितवनको पर्यटकीय क्षेत्र सौराहामा पर्यटकको आगमनमा कमी आएको छ । विदेशी पर्यटकमध्ये आधाभन्दा बढी चीनका पर्यटक यहाँ आउने गर्दछन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले सौराहा पूर्णरुपमा सुरक्षित भएको सन्देश स्वदेश र विदेशमा पु¥याउन आवश्यक भएको बताए । नेपाल नै कोरोना भाइरसबाट सुरक्षित भएको भन्दै उनले चीनको रोग देखिएका शहरबाट पर्यटक यहाँ नआएकाले यस क्षेत्र पूर्णरूपमा सुरक्षित रहेको जानकारी दिए ।

उनले चीनबाट पर्यटक नआए यहाँको पर्यटन व्यवसाय धरासायी हुने चिन्ता पनि व्यक्त गरे । चीनको भाइरस देखिएका क्षेत्रबाट पर्यटक नेपाल आएका छैनन् । सौराहा क्षेत्रमा पहिले आएका र नेपाल बसोबास गर्दै आएका चिनियाँबाहेकका पर्यटक छैनन् । गत वर्षमा यतिबेला दैनिक ७०० हाराहारी चिनियाँ पर्यटक आउने गर्दथे । यतिबेला चितवनमा फाट्टफुट्ट मात्र चिनियाँ पर्यटक छन् ।

स्वदेशी, भारतीय र युरोपियन गरी दैनिक २५० देखि ४०० पर्यटकले अहिले सौराहा धानेको उनको भनाइ छ । सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले समयमै हामी सुरक्षित छौँ भन्ने सन्देश स्वदेश र विदेशमा प्रवाह गर्न सकेमा चिनियाँ पर्यटक कम भए पनि अन्य पर्यटकले धान्न सक्ने बताए ।