स्मार्ट फोन बालबालिकाका लागि अफिम सरह

हामी आफूलाई फुर्सद निकाल्न होस वा सताइरहेको बालबालिकालाई फकाउन, खल्तीबाट मोबाइल निकालेर सहजै उसको हातमा थमाइदिन्छौँ । यो प्रक्रिया जति सहज छ, यसको परिणाम तपाईँ हामीले कल्पना गरेभन्दा निकै घातक हुनसक्छ ।

रोइरहेको बालबालिकाले स्मार्ट फोन पायो भने उसको आँखा सजल हुन्छ । खुसीले अनुहार चम्किलो बनाउँछ । तर त्यही स्मार्ट फोन वा ग्याजेट भविश्यका लागि कति डरलाग्दो छ भन्ने कुरा विभिन्न अनुसन्धानले देखाउन थालेको छ ।

बच्चाले खाना खाएन भने मोबाइलमा भिडियो लगाइदिने वित्तिकै उसले पुरा प्लेटको खाना सकाएको पत्तै हुँदैन । यो अचेल हरेक घरमा देखिने दृश्य हो । प्रत्येक घरको समस्या बन्दै गएको छ ।

तर हामीले बच्चाको यो क्षणिक खुशी उनीहरुको एडिक्शन अर्थात नशा बन्दै गएको त छैन ? भन्नेबारे कहिल्यै सोचेका भने हुँदैनौँ । यो लत पनि उत्तिनै खतरनाक छ जति खतरनाक र खराब रक्सी, सिगरेट वा अन्य नशालु पदार्थको लत हुनेगर्छ । बालमनोवैज्ञानि र मनोचिकित्सकले स्क्रिनको नशालाई पनि उत्तिकै घातक भनेर ठम्याएका छन् ।

संसारका थेरापिस्ट र मनोचिकित्सकहरुले बालबालिकाको हातमा मोबाइल दिनुलाई उनीहरुको हातमा एक बोतल वाइन या एक ग्राम कोकिन दिनुसरह हो भन्ने ठोकुवा गरेका छन् । यही क्षेत्रमा काम गरिरहेका विज्ञहरुको भनाइ त के छ भने अधिकांस बालबालिकामा मोबाइल र इन्टरनेटको अत्याधिक प्रयोगले उनीहरुमा नकारात्मक असरहरु देखिन थालेका छन् । इन्टरनेटको संसारमा बालबालिका, किशोरकिशोरी र युवाहरुको आ आफ्नै दुनिया बन्दै गएको छ । जसलाई वैज्ञानिकले अनौठो गरिबीको नाम दिएका छन् ।

इन्टरनेटका अल्लारे
सामाजिक मोनोविज्ञानको शब्द ‘लोसिंग’ हो । जसबाट ‘लोफर’ शब्द बनेको हो । इन्टरनेटभन्दा पहिला पनि केही मानिसहरु बिना केही काम यताउता लफाङ्गिएको देखिने गर्थे । त्यही काम अब इन्टरनेटमा भइरहेको मनोचिकित्सकहरुको ठम्याइ छ ।

बिना कुनै काम वा उद्देश्य इन्टरनेटको यात्रा गरिराख्नाले मस्तिस्कमा गहिरो असर पर्ने कुरा मनोचिकित्सकहरुले बताएका छन् । भारतकी क्लिनिकल साइक्लोजिस्ट डा सीमा शर्माका अनुसार यस खालको समस्या इन्टरनेट प्रयोगकर्तामा देखिने गर्छ । डा शर्माका अनुसार हाम्रो मस्तिष्क पुरानो संरचनाको हो, त्यसैले टेक्नोलोलीको अधिक प्रयोगले असहज हुनथाल्छ । जसका कारण मस्तिष्कले आफ्नो सामान्य कार्य सूचना प्रोसेसिङ, सूचनाको छनौट र सम्झने शक्तिमाथि नै असर देखाउन थाल्छ । यो समस्या बालबालिकामा झन बढी हुने उनको भनाइ छ ।

असर

मस्तिष्कको कार्यप्रणाली यस्तो हुन्छ कि यदि कुनै पनि क्रियाकलाप उद्देश्यविहीन छ भने त्यसलाई मस्तिष्कले ग्रहण गरिदिँदैन । त्यस्तो इन्फरमेसन प्रसोधन गर्न निकै शक्ति खर्च हुने गर्छ । जसले मस्तिष्कलाई थकाउँछ । बालबालिका, किशोरकिशोरीले पनि इन्टरनेटको अधिक प्रयोग गर्दा मस्तिष्क थाक्ने भएकाले पढाई, लेखाई, सामाजिक व्यवहार, सही, गलत छुट्याउने कुरामा असन्तुलन देखिन थाल्छ ।

टेक्नोलोजीको दुरुपयोग गर्ने वा अधिक स्मार्टफोन चलाउने बालबालिकामा झर्कने, रिसाउने, अनियन्त्रिक रिस पोख्ने र आक्रोसित हुने, अस्वभाविक सामाजिक व्यवहार प्रदर्शन गर्ने, बिद्रोही स्वभाव बढ्दै जाने हुन्छ ।

बालबालिका जब किशोरावस्थामा पुग्छ, त्यसको केही वर्ष सामाजिक व्यवहार सिक्ने महत्वपूर्ण समय मानिन्छ । यस्तो महत्वपूर्ण समयमा मोबाइल, ल्यापटपमा बिताउन थाल्यो भने सामाजिक व्यवहार सिक्ने महत्वपूर्ण अवसर उनीहरुले गुमाउँछन् ।

० मान्छेको मस्तिष्कले सामाजिक हुनका लागि कैयौं हजार वर्ष लगाएको मनोवैज्ञानिकहरुको ठम्याइ छ । अब यदि यसलाई इन्टरनेट र ग्याजेटको जिम्मा लगाइयो भने मस्तिस्क एक कैदीजस्तै हताश, त्रास र निराशाले घेरिन्छ ।

० पछिल्लो समय मोबाइल, ल्यापटप, आईप्याडको एडिक्सन भएका बालबालिका बिग्रेको आनीबानी, व्यवहार, खराब सामाजिकता र बिग्रिसकेको भावनात्मक लक्षणसहित उपचारका लागि ल्याइने गरेको अध्ययनले देखाएको छ ।

व्यवहार
भारत मेरठकी मनोचिकित्सक डा सीमा शर्माका अनुसार पछिल्लो समय अभिभावकहरु यस्ता बालबालिका लिएर आउँन थालेका छन्, जसको व्यवहार कुनै समय निकै असल थियो । जो पढाईलेखाई, घुलमिल, खेलकुद आदिमा निकै अगाडि थिए । तर विस्तारै ससानै कुरामा रिसाउने, असैह्य व्यवहार देखाउने, सहनशीलता नहुने, टेबलमा राखेको प्लेट फालिदिने, कोठामा बसेर एक्लै खाने, आफूभन्दा ठूलालाई ढोग, नमस्कार गर भन्दा भड्किनेजस्ता व्यवहार देखाउने गरेका हुने गरेका छन् ।

मनोचिकित्सक डा शर्माका अनुसार यो कुनै मानसिक बिरामी नभएर टिकटक, पबजीजस्ता भिडियो गेमहरुले दिमागमा पारेको असर हो । यी गेममा लगातार हार, जित, पाउनु, गुमाउनु, भेटनु, छुटिनुजस्ता दृश्यसँग हरेक दिन सामाना गरेका कारण बालबालिकाको व्यवहार बदलिँदै गएको हो । टेक्नोलोजी प्रयोगकै लागि बनाइने भए पनि यसको अधिक प्रयोग घातक हुँदै गएको शर्माको भनाइ छ ।

यीं हुन समस्या
० इन्टरनेटको अधिक प्रयोग गर्ने बालबालिका आफ्नो कामलाई लत्याएर बिना उद्देश्यले इन्टने सर्च गर्दै भड्किरहनु

केही बालबालिका इन्टरनेटमा अनलाईन या पबजीजस्ता गेम खेलेर अधिक समय बिताइरहनु

० कतिपय बालबालिकाले प्रश्नको उत्तर अभिभावक वा गुरुहरुसँग नसोधेर इन्टरनेटमा खोज्नु

०  नक्कली आईटी बनाएर केटा र केटी अनलाईनमा अपरिचितहरुसँग घन्टौ च्याट गरेर जोखिम उठाउनु, र खतरा मोल्नु

सावधानी
० घरमा इन्टरनेट प्रयोगबारे अनुशासन बनाउने

० इन्टरनेटमा काम गर्नु छ भने घरमा साझा कार्यकक्ष बनाउने

० अलग अलग कोठामा बसेर वाईफाईको प्रयोग नगर्ने

० लेक्नोलोजी खराब होइन, यो चलिरहन्छ, त्यसैले इन्टरनेट प्रयोग नै गर्दिन भन्ने घुर्की नलगाउने

० सजाए स्वरुप बालबालिकालाई मोबाइल वा इन्टरनेटबाट टाढा राख्नुको सट्टा उनीहरुलाई जिम्मेवार भएर यसको प्रयोग गर्न सिकाउने

० जबसम्म जरुरी काम हुँदैन तबसम्म बालबालिकालाई इन्टरनेट भएको मोबाइल फोन नदिने

० बच्चाले मात्रै नगरोस भनेर हुँदैन, बालबालिकाले भनेकोभन्दा गरेको अनुसरण चाडो गर्छन । त्यसैले परिवारका अन्य सदस्यले पनि उदाहरण बनेर देखाउने र अनुशासनमा बस्ने ।

एजेन्सीको सहयोगमा