सुदूरपश्चिम–११ र स्टार सिटीबीच उपाधि भिडन्त

धनगढी । पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको फाईनल धनगढी रंगशालामा हुदैछ ।

झण्डै नौ लाख धनराशीको हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको फाईनल खेल शनिबार दिउँसो २ बजे धनगढी रंगशालामा हुन लागेको हो ।

उपाधिका लागि सुदूरपश्चिम–११ स्पोर्टस क्लब र स्टार सिटी युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

शुक्रबार भएको दोस्रो सेमिफाईनल खेलमा जित हात पार्दै सुदूरपश्चिम–११ स्पोर्टस क्लब उपाधि नजिक पुगेको हो ।

फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढी रंगशालामा भईरहेको प्रतियोगिताको दोस्रो सेमिफाईनलमा पिएफए अत्तरियालाई ३–२ ले हराउँदै सुदूरपश्चिम–११ फाईनल पुगेको हो ।

यसअघि बिहीबार भएको पहिलो सेमिफाईनलमा स्टार सिटीले मनकामना युवा क्लबलाई ३–२ ले हराएको थियो ।

माघ १७ गतेदखि सुरु भएको पाँचौं हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता शनिबार सकिनेछ ।

धनगढी रंगशालामा दिउँसो दुई बजे फाईनल खेल भएसँगै प्रतियोगिता सकिनेछ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचले दुई हजार ६ सय नगद पाउनेछन ।