‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’बाट मेगा बैंकका सिइओ खुञ्जेली सम्मानित

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली ‘उत्कृष्ट महिला व्यबस्थापक अवाडर्’बाट सम्मानित भएकी छिन् ।

नेपाल व्यवस्थापन संघ (म्यान)ले साधारण सभाको अवसरमा सिइओ खुञ्जेलीलाई सम्मान गरेको हो । शुक्रबार विशेष समारोहका बीच उपराष्ट्रपति नन्दकिशोर पुनले सिइओ खुञ्जेलीलाई अवार्ड प्रदान गरेका हुन । ‘क’ वर्गको वाणिज्य बैंकको सिइओ बन्ने खुञ्जेली नेपालको पहिलो महिला बैंकर हुन ।

उत्कृष्ट महिला व्यबस्थापक अवार्डबाट सम्मानित भएपछि सिइओ खुञ्जेलीले खुसी व्यक्त गर्दै सम्पूर्ण सरोकारवालालाई धन्यवाद र आभार व्यक्त गरिन ।

यो अवार्डलाई आफूले मेगा बैंक सञ्चालक समिति, संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्ग, कर्मचारी एवं समस्त सरोकारवालाको विश्वासको रुपमा लिएको उनले बताइन ।

खुञ्जेली स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन । ९ वर्षअघि मेगा बैंकमा नायब महाप्रबन्धकबाट सेवा प्रवेश गरेकी खुञ्जेलीले २०७५ बैशाखबाट प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेकी हुन ।

उनको नेतृत्वमा बैंकले उल्लेख्य प्रगति गर्न सफल भएको बताइन्छ । यो बर्ष बैंक अफ दि एयर जस्तो प्रतिष्ठित सम्मान समेत प्राप्त गरेको छ ।

सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर सुरु गरेकी खुञ्जेलीसँग २८ वर्षको बैंकिङ करिअरको अनुभव छ ।