होचो कलाकार बिकलाई मोडलिङ संघको सहयोग

काठमाडौं । सम्भवतः बिश्वका सबैभन्दा होचो कलाकारको रुपमा परिचित मनोज बिकलाई नेपाल राष्ट्रिय मोडलिङ संघले दुई लाख २० हजार दुई सय २० रुपैयाँ सहयोग गरेको छ ।

संघले कमलपोखरीस्थित बिगमुभिजमा फिल्म ‘सेल्फी किङ्ग’को एक बिषेश शो आयोजनासहित उक्त रकम सहयोग गरेको हो । बोनम्यारो रोगबाट केही समयदेखि पीडित मनोजको उपचारका लागि संघले उक्त रकम सहयोग गरेको हो ।
शोमा पूर्व परराष्ट्र राज्यमन्त्री तथा दक्षिण कोरियाको लागि नेपाली निबर्तमान राजदूत अर्जुनजंग बहादुर सिंह र मोडलिङ संघका अध्यक्ष दिनेश शाहीले मनोजलाई सो रकम प्रदान गरेका हुन् ।

‘पारिवारको आर्थिक अवस्था मजबुत नहुँदा मनोजको उपचारमा आर्थिक समस्याले कठिनाई उत्पन्न भइरहेको छ,’ मोडलिङ संघका अध्यक्ष शाहीले भने, ‘उपचारका लागि केही सहयोग होस् भनेर फिल्मको बिषेश शो गरिएको हो ।’

बिषेश शोका लागि ‘सेल्फी किङ्ग’ निर्माता सुवास थापा र दिनेश राउतले फिल्म उपलब्ध गराएका थिए । फिल्म भने गत शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको हो । शोमा फिल्मका कलाकार, कांग्रेश विद्यार्थी नेता क्षितिज भण्डारी, रमेश महत समाजसेवी तथा रंगपत्रकारको उपस्थिति थियो ।