माथिल्लो कर्णालीको काम छिट्टै शुरु हुन्छः जिएमआर

काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी गान्धी माल्लिकार्जुन राव (जिएमआर)ले आगामी तीन महिनाभित्र विद्युत् खरिद सम्झौताको सबै प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।

कूल ९०० मेगावाट क्षमताको सो आयोजनाबाट उत्पादित विद्युत्मध्ये ५०० मेगावाट विद्युत् बङ्गलादेश सरकारलाई बिक्री गर्ने सम्झौता गरेको जिएमआरले तीन महिनाभित्र खरिद बिक्रीसम्बन्धी सबै प्रक्रिया पूरा हुने र वित्तीय व्यवस्थापनमा लाग्ने बताएको हो ।

वित्तीय व्यवस्थापनको काम र आयोजना स्थलमा निर्माण प्रक्रिया सँगसँगै शुरु गर्ने योजनामा जिएमआर रहेको छ । सबै कामलाई समानान्तररूपमा अगाडि बढाउने योजनाका साथ आफूहरु लागेको कम्पनीले बताएको छ । निर्णयप्रक्रिया जति सक्दो छिटो हुन्छ, सोही आधारमा काम अगाडि बढ्ने कम्पनीको भनाइ छ । गत पुसमा बङ्गलादेश सरकारले जिएमआरको विद्युत् खरीद गर्ने निर्णय गरेको थियो ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धक सतलजले वित्तीय व्यवस्थापन सम्झौता गरेको तीन दिनपछि जिएमआरले पत्रकार भेटघाट गरी आयोजनाको पछिल्लो अवस्था र भइरहेको तयारीका बारेमा जानकारी गराएको हो । सतलजले यही माघ २३ गते दुई नेपालीसहित पाँच भारतीय बैंकबाट एक खर्ब रकम जुटाएको थियो ।

जिएमआरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण परियोजना प्रमुख केके शर्माले बङ्गलादेशबाट विद्युत् खरीद सम्झौताको विषयमा पछिल्लो जानकारी प्राप्त भएको र सोही आधारमा छिट्टै सम्पूर्ण प्रक्रियाले पूर्णता पाउने जानकारी दिए ।