कोरोनाबाट मर्नेको संख्या नौ सय पुग्यो, ३७ हजार सङ्क्रमित

एजेन्सी । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको नयाँ भाइरस कोरोना द्रुत रूपमा फैलिएको छ । कोरोना भाइसरका कारण चीनको मुख्य भूमिमै नौ सय जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सोमबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट नौ सय आठ जनाको मृत्यु भएको छ । ३७ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित छन् ।

सोमबार प्राप्त समाचारअनुसार यस भाइरसको सुरुवात भएको प्रमुख स्थानको रुपमा रहेको हुबेई प्रान्तमा आइतबारसम्म मात्र यस भाइरसबाट २ हजार ६ सय १८ जना सङ्क्रमित भएको बताइएको छ । आइतबार एकै दिनमा ९१ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

हुबेई प्रान्तका दुई हजार ६ सय १८ जना सङ्क्रमितहरुमा १ हजार नौ सय २१ जना हुबेइ प्रान्तको प्रान्तीय राजधानी अर्थात कोरोना भाइरसबाट अत्यन्त प्रभावित स्थान उहानमा मात्र रहेका छन् । आइतबार एकै दिनमा ज्यान गुमाउनेमा पनि ७३ जना उहानका नै रहेको जनाइएको छ ।

हुबेई प्रान्तमा आइतबार मात्र २९ हजार ६ सय ३१ जनामा कोरोना भाइरस सङ्क्रमित भएका थिए । गत वर्षको अन्त्यतिरबाट चीनको हुबेई प्रान्तको प्रान्तीय राजधानी उहानबाट शुरु भएको यस भाइरसका कारण सो प्रान्तमा मात्र ८ सय ७१ व्यक्तिको मृत्यु भएको छ । सङ्क्रमित रहेका २९ हजार ६ सय ३१ जनामा ५ हजार पाँच सय पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।